अनलाइन ठगी र क्रिप्टो कारोबार गर्ने गिरोह नै समातियो, ३ अर्बभन्दा बढीको कारोबार

बिजमाण्डू
२०८१ माघ १८ गते १६:१८ | Jan 31, 2025
अनलाइन ठगी र क्रिप्टो कारोबार गर्ने गिरोह नै समातियो, ३ अर्बभन्दा बढीको कारोबार


काठमाडौं। प्रहरीले संगठितरुपमा ठगी र क्रिप्टो कारोबार गर्ने समूहलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले विभिन्न जिल्लाबाट दुई भारतीयसहित सात जना युवालाई नियन्त्रणमा लिएको हो।

Tata
GBIME
NLIC

पक्राउ पर्नेहरूमा कैलालीका माइकल डंगौरा, अनिल विश्वकर्मा, काठमाडौंका पीयूष श्रेष्ठ, दोलखाको अश्विनी चौलागाईं, सत्यकुमार सहनी तथा भारत घर भएका रोशन कुमार र मुन्ना कुमार रहेका छन्। यो समूहले अहिलेसम्म ३ अर्बभन्दा बढी ठगी गरेको ब्युरोका एसपी सुधीर कुमार शाहले जानकारी दिए।

उनीहरूले संगठितरुपमा सामाजिक सञ्जालमा विभिन्न विज्ञापन दिई मानिसहरूलाई प्रलोभनमा पारेर ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। ठगीबाट आएको रकम विभिन्न मानिसको वालेट प्रयोग गरेर कारोबार गर्ने गरेको देखिएको छ। वालेट प्रयोगकर्तालाई झुक्काएर त्यसको पासर्वड (ओटीपी) लिई रकमको कारोबार गर्ने गरेको खुलेको छ।

उनीहरूले विभिन्न सामाजिक सञ्जालहरूमा जागिर घरैमा बसेर धेरै रकमहरू कमाउन सकिने भन्ने जस्ता आकर्षक विज्ञापनहरू दिने गरेका थिए। त्यसपछि मानिसहरूलाई प्रलोभनमा पारेर उनीहरूको नागरिकता, फोन नम्बर प्रयोग गरी विभिन्न बैंक तथा वालेटहरूमा खाता खोल्न लगाएको पाइएको छ।

उक्त खाता आफूले प्रयोग गर्ने मिल्ने बनाउने र प्रयोग गरे बापत निश्चित रकम दिने गरेको देखिन्छ। यस्ता खाताहरूमा अनलाइन ठगीबाट आएको रकम जम्मा गर्ने र क्रिप्टो खरिद बिक्री गर्ने तथा हुन्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ।

गिरोहले ठगी गरेको रकमबाट क्रिप्टो, गेम प्वाइन्ट किन्न समेत प्रयोग गर्ने गरेको पाइएको छ।