पोखरामा साताको ३ वटा उडान गर्ने सिचुवान एयरको योजना, बजार अध्ययन गर्दै

बिजमाण्डू
२०८१ माघ १५ गते ११:४३ | Jan 28, 2025
पोखरामा साताको ३ वटा उडान गर्ने सिचुवान एयरको योजना, बजार अध्ययन गर्दै


काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरले सातामा ३ वटा उडान गर्ने गृहकार्य सुरु गरेको छ। एक महिना अगाडि पोखरा-काठमाडौं उडान पहिलोपटक यात्रुसहित उडान गरेको यो वायुसेवाले नियमित व्यावसायिक उडानको तयारी अगाडि बढाएको हो।

Tata
GBIME
NLIC

नेपालका लागि सिचुवान एयरको आधिकारिक जेनरल सेल्स एजेन्ट सोसाइटी इन्टरनेसनलका एक कर्मचारीले अबको ६ महिनाभित्र पोखरामा नियमित उडान गर्ने गरी गृहकार्य गरिरहेको जानकारी दिए।

‘सिचुवान एयर पोखरामा नियमित व्यावसायिक उडान गर्न तयार भइसकेको छ। मुख्य कुरा भनेको बजार हो। अहिले त्यसको अध्ययन भइरहेको छ,’ उनले भने, ‘कम्पनीले सिधा उडानसँगै पोखराबाट छेङ्दु हुँदै अष्ट्रेलिया लगायत विभिन्न गन्तव्यतर्फ कनेक्टिङ फ्लाइट गर्नेबारे अध्ययन गरिरहेको छ।’

पोखरा विमानस्थलमा सिचुवान एयरले समय समयमा चार्टर्ड उडान गर्दै आएको छ।       

गत पुस ११ गते यो वायुसेवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १२६ यात्रुसहित काठमाडौंमा उडान गरेको थियो। पोखरा विमानस्थलबाट न्यारोबडी जहाजले पूर्ण क्षमतामा उडान गरेको त्यो पहिलोपटक थियो।