वैदेशिक रोजगारीमा गएकालाई क्रेष्ट माइक्रो लाइफको आइपीओ खुला, कस्तो छ वित्तीय अवस्था?

बिजमाण्डू
२०८१ माघ १५ गते ११:०७ | Jan 28, 2025

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले मंगलबारदेखि आइपीओ निष्कासन खुलाएको छ। इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई आइपीओ निष्कासन गरेको हो।

Tata
GBIME
NLIC

कम्पनीले वैदेशिक रोजगारीमा गएकाहरुलाई २ लाख २५ हजार कित्ता सेयर छुट्याएको छ। अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले निष्कासन गरिएको आइपीओ माघ २९ गतेसम्म खुला रहनेछ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँको आइपीओ निष्कासन गर्दैछ।

सेबोनबाट माघ ३ गते अनुमति पाएपछि कम्पनीले आइपीओ निष्कासन अघि बढाएको हो। नेपाल बीमा प्राधिकरणबाट २०७९ मंसिरमा माइक्रो इन्स्योरेन्स व्यवसायका लागि लाइसेन्स पाएको कम्पनीले गत वर्षदेखि व्यापार सुरु गरेको थियो।

इन्स्योरेन्सले गत वर्ष ८८ लाख ५५ हजार रुपैयाँ नाफा कमाएको विवरण पत्रमा उल्लेख छ। गत असारसम्म प्रति सेयर आम्दानी २.४१ रुपैयाँ र प्रति सेयर नेटवर्थ १०३.२७ रुपैयाँ रहेको छ।

अर्थतन्त्रमा कायम शिथिलताका कारण ठूला कम्पनीलाई नै नयाँ व्यवसाय विस्तार गर्न सकस परिरहेका बेला माइक्रो इन्स्योरेन्सका लागि पनि अवस्था थप चुनौतिपूर्ण छ।

इन्स्योरेन्सले चालु आर्थिक वर्षमा २ करोड ६९ लाख रुपैंयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ। त्यतिखेर प्रति सेयर आम्दानी ७.७४ र प्रतिसेयर नेटवर्थ १०९.३१ रुपैयाँ पुग्ने अनुमान गरेको छ।