बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२५, प्राथमिकतामा सफ्टवेयर र एआई प्रयोग

बिजमाण्डू
२०८१ माघ १४ गते १७:२९ | Jan 27, 2025
बिहीबारदेखि भृकुटीमण्डपमा चेम्बर एक्स्पो २०२५, प्राथमिकतामा सफ्टवेयर र एआई प्रयोग


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले चेम्बर एक्स्पो २०२५ आयोजना गर्ने भएको छ। आठौं चरणको यो एक्स्पो आउने माघ १७ गतेदेखि २१ गतेसम्म भृकुटीमण्डपमा आयोजन गर्न लागेको हो।

Tata
GBIME
NLIC

स्थानीय उत्पादनहरुको प्रवर्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्य एक्पोको रहेको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो।

आजको कार्यक्रममा व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी प्रमुख शरद विक्रम राणाले देश भित्र खपत हुने सफ्टवेयरहरुको प्रयोग गर्दा आन्तरिक उत्पादन एवं प्रतिस्पर्धाकै आधारमा चयन गरिनुपर्नेमा जोड दिए।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधी, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए।

चेम्बर अफ कमर्सको सूचना प्रविधि समति सभापति विज्ञान श्रेष्ठले चेम्बर एक्स्पोमा यो पटक आईटी उत्पादनहरुलाई उच्च प्राथमिकतामा राखिएको बताए।

चेम्बर एक्स्पोमा नेपाल, बंग्लादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान लगायतका देशहरुमा उत्पादित वस्तुहरुको प्रर्दशनी र व्यवसायीहरुले सहभागिता जनाउने जनाइएको छ।

स्वदेशी र विदेशी गरि १२५ भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन्। ५ दिन सम्म चल्ने एक्स्पोमा कम्तिमा ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ।