यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह नियुक्त, नयाँ नेतृत्वसँग उत्कृष्टताको यात्रा घोषणा

बिजमाण्डू
२०८१ माघ १२ गते १२:१८ | Jan 25, 2025
यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह नियुक्त, नयाँ नेतृत्वसँग उत्कृष्टताको यात्रा घोषणा


काठमाडौं। खाद्यवस्तु बजारको अग्रणी नेपाली कम्पनी यशोदा फूड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जीपी शाहलाई नियुक्त गरेको छ। अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एक सय करोडभन्दा माथि भएको यशोदा फूड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, इटाली, मलेसिया, अष्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापुर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको छ।

Tata
GBIME
NLIC

कम्पनीले शुक्रबार काठमाडौंको हायात सेन्ट्रिक होटलमा आयोजना गरेको समारोहमा नयाँ नेतृत्वसँग उत्कृष्टताको नयाँ यात्रा प्रारम्भ भएको घोषणा गरेको छ। समारोहमा औद्योगिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, व्यावसायिक साझेदारहरू र मिडिया प्रतिनिधिहरूको उपस्थिति थियो। कार्यक्रममा कम्पनीका अध्यक्ष चुन्नुप्रसाद पौडेल शाहलाई ग्लोबल कार्यकारी निर्देशकमा नियुक्त गरिएको घोषणा गर्दै कम्पनीमा स्वागत गरे। शाहको नियुक्तिसँगै यशोदा फुड्सको उत्साहजनक अध्यायको सुरुवात भएको उनले बताए।

शाह व्यवसायलाई बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्राण्ड बिल्डिङ, व्यवसायको कार्यगत क्षमताको विस्तार, संस्थागत विकास र टिम बिल्डिङका लागि अनुभवी मानिन्छन्। व्यवसायिक करियरअन्तर्गत उनले ख्यातिप्राप्त कन्जुमर गुड्स ब्राण्डहरु चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसलाहरु, इन्स्ट्यान्ट पास्टा, सिगरेट, फलफूजन्य पेय पदार्थ, इनर्जी ड्रिंक्स तथा बियरका श्रेणीहरुमा बजार बढाउन उनले काम गरेको जानकारी कार्यक्रममा दिइयो।

कार्यक्रममा यशोदा फूड्सको साझेदार हुन पाउँदा उत्साहित भएको भनाइ शाहले राखे। ‘गुणस्तर र नवप्रवर्धनका सवालमा सदैव अग्रणी रहँदै आएको यो कम्पनीसँग आफ्नो यात्रा अगाडि बढाउन पाउँदा म निकै उत्साहित छु,’ उनले भने। कम्पनीले आफ्नो परम्परागत विरासतलाई कायम राख्दै खाद्य पदार्थ क्षेत्रमा नवप्रवर्तन भित्र्याउने उद्देश्य लिएको जानकारी समारोहमा दियो। भविष्यमा खाद्य उत्पादनका साथै एफएमसीजी उत्पादनहरु पनि सार्वजनिक गर्ने कम्पनीको लक्ष्य छ।