
काठमाडौं। सिमेन्ट उद्योगीहरुले सिमेन्टको भाउ नबढाएको दाबी गरेका छन्। उनीहरुले लागत अनुसार समायोजन मात्र गरेको बताएका छन्।
नेपाल सिमेन्ट उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गरी कार्टेलिङ नगरेको बताएको छ। संघका अध्यक्ष रघुनन्दन मारुले उद्योगहरु स्वयंले मूल्य निर्धारण गर्ने गरेको भन्दै कार्टेलिङ गरेको कुरा आधारहीन भएको बताए।
‘सुनचाँदी महासंघले सुनचाँदीको मूल्य, बैंकर्स संघले ऋणको ब्याजदर तय गरेजस्तो हामीले सिमेन्टको मूल्य तय गरेका छैनौं। कार्टेलिङ गरेको छैन,’ उनले भने।
उनले मागमा गिरावटका कारण उत्पादन घटाउनुपर्दा र लोडसेडिङका कारण लागत बढ्न गएको बताए।
‘मूल्यवृद्धि गर्यो भनेर आक्षेप लगाउनुको कुनै आधार छैन। लोडसेडिङका कारण उत्पादन घटेको छ। जानीजानी उत्पादन बन्द गरेका छैनौं। जेनेरेटर चलाउँदा लागत अत्यधिक बढेको छ। विकास खर्च नहुँदा मागमा गिरावट आयो। उत्पादन कम गर भनेर कसैलाई भनेको छैन। मूल्य बढाएर बिक्री गर भनेको छैन,’ उनले भने।

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बुधबार तत्काल भाउ नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको थियो।
नेपाल निर्माण व्यवसायी महासंघले उद्योगीले सिमेन्टको भाउ साउनमा प्रति बोरा ४०० रुपैयाँ रहेकामा कार्टेलिङ गरेर अहिले ८०० रुपैयाँभन्दा माथि पुर्याएको भन्दै समितिमा उजुरी दिएको थियो।
उद्योगीहरुले महासंघले भनेजस्तो महँगो मूल्य नलिएको तर लागत बढेका कारण घाटा थेग्न नसकेर बिक्री मूल्य केही बढेको बताएका छन्।
‘कुल ६५ वटा सिमेन्ट उद्योगहरुमध्ये २२ वटा सिमेन्ट उद्योग मुनाफा गर्न नसकी ठूलो नोक्सानी भई यस अवधिसम्म पूर्णतः बन्द भइसकेका छन्,’ संघका अध्यक्ष मारुले भने, ‘थप केही उद्योगसमेत आर्थिक संकटका कारण बन्दउन्मुख रहेको कुरा समेत जानकारी गराउन चाहन्छौं। यस विषम परिस्थितिका कारण सिमेन्ट उद्योगहरुले नोक्सानीमा थप अवधि उद्योग संचालन गर्न नसक्ने अवस्था सिर्जना भएकोले ऋणको ब्याज र किस्ता तिर्न न्यूनतम उत्पादन लागतसम्म धान्न सक्ने गरी केही महिनायता आफ्नो उत्पादनको बिक्री मूल्यमा केही वृद्धि गरेका हौं।’
संघ सिमेन्टको भाउ साउनको बिक्री मूल्यमा अधिकतम ११५ रुपैयाँभन्दा बढी नलिन सहमत भएको छ। अध्यक्ष मारुले उद्योगमन्त्रीसँगको छलफल र आम उपभोक्ताहरुको हितलाई ध्यान दिई साउनको बिक्री मूल्यमा प्रति बोरा बढीमा ११५ रुपैयाँभन्दा बढी नलिन सबै उद्योगीहरु सहमत भएको बताए।
‘साउन महिनाको उद्योगहरुको बिक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्था समेतलाई हेरी हाललाई औसतमा प्रति बोरा अधिकतम ११५ रुपैयाँ (मुअ कर बाहेक) थप नहुने गरी बिक्री मूल्य निर्धारण गर्न सम्बन्धित सबै सदस्य उद्योग लाई पत्राचार गरिसकिएको छ,’ उनले भने।
यस्तो छ नेपाल सिमेन्ट उत्पादक संघका तर्फबाट जारी प्रेस विज्ञप्ति
नेपालमा विगत वर्षहरुदेखि नै निर्माण कार्यमा आएको शिथिलता, आर्थिक मन्दी, पूँजीगत बजेटको न्यून विनियोजन र सो विनियोजित रकम पनि खर्च हुन नसक्नु, उद्योगहरुको नियमित र स्थिर खर्चहरु सालवसाली अभिवृद्धि हुँदै जानु, मागमा आएको कमीले गर्दा सरदर ३०% क्षमतामा उद्योग संचालन गर्न बाध्य हुनु लगायत कारणहरुले गर्दा ठूलो लगानी रहेका प्राय सबै नेपाली सिमेन्ट उद्योगहरुले अत्यन्त ठूलो घाटा व्यहोरीरहेका छन्।
ठूलो नोक्सानीका कारण बैंकहरुबाट लिइएको कर्जा रकमको व्याज र किस्ता भुक्तानी, कच्चा पदार्थहरुको खरिद, आयात, उद्योगहरुमा पछिल्ला केही महिनादेखि नेपाल विद्युत प्राधिकरणबाट १२ घण्टासम्म दैनिक विद्युत कटौती भईरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग संचालन गर्दा उत्पादन लागतमा भएको बृद्धि साथै ढुवानी भाडामा भएको वृद्धि लगायतका कारण उद्योग संचालन नै गर्न नसक्ने अवस्था आएको तथ्य सर्वविदितै छ।
उद्योगहरुले श्रमिक कर्मचारीहरुको तलब भत्ता भुक्तानी, विद्युत महसुल रकम भुक्तानी, वैकल्पिक उर्जाको लागि इन्धन खरिद, कच्चा पदार्थको भुक्तानी, बैंक किस्ता र व्याज भुक्तानी जस्ता नियमित खर्चहरु धान्नका लागि उत्पादन लागतभन्दा निकै कम मूल्यमा सिमेन्ट बिक्री गरी तरलता व्यवस्थापन गर्नुपर्ने बाध्यताको कारण विगतमा सिमेन्टको मूल्यमा अस्वभाविक गिरावट आएको कुरा समेत सबैमा विदितै छ।

ठूलो नोक्सानी व्यहोरेर लामो समयसम्म उद्योग व्यवसाय सञ्चालन गर्न सम्भव नरहेको यथार्थ पनि सबैलाई जानकारी नै रहेको विषय हो। अर्बौँ लगानी गरी स्थापना भएका उद्योगहरुले मुनाफा गर्न नसकी ठूलो नोक्सानी भई नेपालमा संचालित कुल ६५ वटा सिमेन्ट उद्योगहरुमध्ये २२ वटा सिमेन्ट उत्पादन गर्ने उद्योगहरु यस अवधिसम्म पूर्णतः बन्द भईसकेका छन्।
थप नोक्सानी व्यहोरी उद्योग संचालन गर्दा अरु केहि उद्योगहरु समेत आर्थिक संकटका कारण बन्द उन्मुख रहेको कुरा समेत जानकारी गराउन चाहन्छौं। यस विषम परिस्थितीका कारण सिमेन्ट उद्योगहरुले नोक्सानीमा थप अवधि उद्योग संचालन गर्न नसक्ने अवस्था सिर्जना भएकोले उद्योगले लिएको ऋणको व्याज र किस्ता तिर्न नाफा नभए पनि न्यूनतम उत्पादन लागतसम्म धान्न सक्ने गरी केहि महिना यता आफ्नो उत्पादनको विक्री मूल्यमा केही वृद्धि गरेको तथ्य पनि सबैमा जानकारी रहेको नै छ।
तथापी यस सम्बन्धमा सबै सरोकारवालाहरुले उठाएको चासो, गुनासो प्रति यस संघको पनि गम्भिर ध्यानाकषर्ण भएको नै छ।
तसर्थ यस विषयमा आम उपभोक्ता लगायत सबै सरोकारवालाहरुको हित र विकास निर्माणका कार्यहरु द्रुत गतिमा अगाडी बढाई देशको औद्योगिक उत्पादन र आर्थिक विकासमा टेवा पुगोस भन्ने असल मनसायका साथ नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीसँग भएको छलफल तथा राय सुझाव तथा आम उपभोक्ताहरुको हितलाई समेत ध्यान दिई हालको सिमेन्टको विक्री मूल्य परिमार्जन गर्न २०८१ साउन महिनाको उद्योगहरुको विक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्था समेतलाई हेरी विचार गरी हाललाई औसतमा प्रति बोरा (५० केजी) को अधिकतम रु. ११५ (मुअकर बाहेक) भन्दा थप नहुने गरी विक्री मूल्य निर्धारण गर्नु हुन सम्बन्धित सबै सदस्य उद्योगहरुलाई पत्राचार गरी अनुरोध गरिसकिएको छ।
साथै सिमेन्ट उद्योगहरुमा निर्वाध र निरन्तर रुपमा विना लोडसेडिंग विद्युत आपूर्तिको प्रबन्ध मिलाई दिनु हुन समेत नेपाल सरकारका सम्बद्ध र सरोकारवाला अधिकारीहरु समक्ष सादर निवेदन गर्दछौं।
हालको अवस्था र झन्झटिला कानूनी र अन्य जटिलताहरुले गर्दा उद्योग सञ्चालन गर्न अत्यन्तै कठिन परिस्थिति भएको अवस्थाले मूल्य बृद्धिमा समेत प्रभाव पर्न जाने व्यहोरा समेत सबैमा जानकारी गराँउदै यस्ता अवस्थाको शीघ्र निकास र समाधान खोज्न पनि नेपाल सरकार लगायत सम्बद्ध सबै पक्षसंग जोडदार अपिल समेत गर्दछौं।
कुनै पनि उद्योगले उत्पादित बस्तुको मूल्य आफ्नो लागत आदिको आधारमा आफैं निर्धारण गर्ने कानूनी व्यवस्था र अधिकार भएता पनि हालको यस अवस्थालाई हृदयंगम गरी आफ्नो सिमेन्टको मूल्यमा यस संघले गरेको पत्राचार अनुसार विक्री वितरण गर्ने व्यवस्था २०८१।१०।१२ बाटै मिलाउनु भई सिमेन्टको हालको विक्री मूल्य समायोजन गरी सदस्य उद्योगहरुको तर्फबाट आवश्यक सहयोग गरिदिनु हुनेछ भन्ने आशा एवं विश्वास लिएका छौं।