
काठमाडौं । कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ।
लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको जनाएको छ।
सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अशोक लेल्यान्डको सन्तुष्ट ग्राहकको नाताले लेपावर जेनसेट गेम चेन्जर बन्ने विश्वास लिएको बताएका थिए।
अशोक लेल्यान्डका सार्क प्रमुख अमिताभ श्रीवास्तवले अशोक लेल्यान्ड इन्डियाले लेपावर जेनसेटका साथ नेपालको बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै गइरहेको जानकारी दिएका थिए। आईएमई ग्रुपसँगको सहकार्यले विश्वसनीयता र उत्कृष्टताका माध्यमबाट सहरी र औद्योगिक क्षेत्रमा आवश्यक ऊर्जा उपलब्ध गराउनका लागि यी जेनसेट उत्पादन तथा बिक्री वितरण गरिएको श्रीवास्तवको भनाइ थियो।
सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आईएमई ग्रुप प्रतिबद्ध रहेको बताएका थिए। उनले ग्राहकलाई अतुलनीय सेवा र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउन कम्पनी प्रतिबद्ध रहेको बताएका थिए।