
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज सि-चेकका लागि माघ १३ गते चीन लगिने भएको छ।
सि-चेकका लागि आफूले छनोट गरेको कम्पनी चाइना साउदर्नलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वीकृति दिएपछि एनएसीले जहाज चीन लाने भएको हो।
एनएसीको जहाज सि-चेकका लागि चाइना साउदर्नलाई स्वीकृति दिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए।
‘एनएसीले छनोट गरेको चाइना साउदर्नलाई जहाज सि-चेकका लागि हामीले स्वीकृति दिएका छौं। एनएसीले जहाज १३ गते चीन लानका लागि अनुमति पनि पाइसकेको छ,’ उनले भने।
जहाज ८ दिनमा सि-चेक गरिसक्ने भनिएको छ। क्यानले यसअघि आफ्नो स्वीकृतिविनाको कम्पनी छानेको भन्दै एनएसीसँग स्वष्टीकरण सोधेको थियो।