
काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) लागू गरिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हुस्सुका कारण उडान प्रभावित हुने समस्या समाधानका लागि भैरहवा विमानस्थलमा आरएनपीएआर प्रणाली जडान गरेको हो।
क्यानले आरएनपीएआर प्रणाली लागू गरेसँगै भैरहवामा बिहिबारबाट ८०० मिटर भिजिबिलिटीमै जहाज अवतरण गर्न सकिने भएको छ।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आरएनपीएआर प्रणालीमार्फत जहाज उडान/अवतरणका लागि फ्लाइ दुबइले प्रक्रिया सुरु गरेको जानकारी दिए।
‘आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपीएआर प्रणाली लागू भएको छ। अब वायुसेवा कम्पनीले हामीसँग अनुमति लिएर कम भिजिबिलिटीमा उडान गर्न सक्छन्,’ उनले भने, ‘अहिले फ्लाई दुबईले प्रक्रिया सुरु गरिसकेको छ।’

यो प्रणालीबाट उडान अवतरणका लागि सम्बन्धित वायुसेवा कम्पनीले पाइलटलाई तालिमसँगै जहाजमा विशेष उपकरण प्रयोग गर्नुपर्ने हुन्छ। यसका लागि क्यानबाट स्वीकृति लिनुपर्नेछ।
यसअघि भैरहवा विमानस्थलमा भेरी हाइ फ्रिक्वेन्सी (भीओआर) प्रणाली अन्तर्गत उडान अवतरण हुँदै आएको थियो। यसमा जहाज अवतरणका लागि न्यूनतम १८०० मिटर भिजिबिलिटी आवश्यक हुन्छ।
बिहान हुस्सुका कारण भिजिबिलिटी कम हुँदा उडान अवतरण प्रभावित भएपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवामा केही समय सेवा नै बन्द गरेका थिए।
भैरहवा विमानस्थलमा अहिले थाइ एयर एसिया, फ्लाइ दुबई, जजिरा एयरवेज र नेपाल वायुसेवा निगमले नियमित व्यावसायिक उडान गर्दै आएका छन्।

यो प्रणाली भू-उपग्रहमार्फत सञ्चालन हुनेछ। यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आरएनपीएआर प्रणाली जडान गरिएको थियो।