
काठमाडौं। नेपाल वायुसेवा निगमको (एन-एकेडब्लु) कलसाइनको न्योरोबडी जहाज सि-चेक प्रक्रिया नागरिक उड्डयन प्राधिकरणमै अल्झिएको छ। एमआरओ कम्पनीको आवश्यक कागजात नपुगेका कारण प्रक्रिया अगाडि बढ्न नसकेको प्राधिकरणका एक कर्मचारीले बताए।
‘निगमले छनोट गरेको एमआरओ कम्पनीको आवश्यक बाँकी कागजात आज प्राप्त भएको छ,’ उनले भने, ‘हामी सक्दो चाँडो जहाज सि-चेकमा पठाउने गरी काम गरिरहेका छौं।। यो बीचमा निगमले केही कागजपत्र ढिला बुझाएका कारण ढिलाइ हुन गएको हो।’
यता निगमले भने नागरिक उड्डयन प्राधिकरणले प्रक्रिया पूरा गर्ने भन्दै दुई सातादेखि ढिलाइ गर्दै आएको जनाएको छ।
‘हामीले पुस २६ गते जहाज सि-चेकमा पठाएर माघ ८ गते रिलिज गर्ने तयारी गरेका थियौं। तर नागरिक उड्डयन प्राधिकरणले सि-चेक गर्ने आफ्नो मान्यता अन्तर्गत हुनुपर्ने जनाएपछि सबै प्रक्रिया अगाडि बढायौं,’ उनले भने, ‘तर ढिलासुस्ती हुनुको कारण नै बुझिएन।’
उनका अनुसार जहाज सि-चेकको समय ८ दिनको रहेको छ। निगमको एउटा न्यारोबडी जहाज नहुँदा विभिन्न गन्तव्यतर्फको उडान प्रभावित भएको उनले जानकारी दिए।