बजारमा माग बढेको संकेत, पुसमा १ खर्ब ६१ अर्बको आयात, निर्यात ३१.६८ प्रतिशतले वृद्धि

बिजमाण्डू
२०८१ माघ ७ गते १५:५१ | Jan 20, 2025
बजारमा माग बढेको संकेत, पुसमा १ खर्ब ६१ अर्बको आयात, निर्यात ३१.६८ प्रतिशतले वृद्धि


काठमाडौं। बजारमा वस्तुको माग बढेको संकेत देखिएको छ। पुस महिनाको आयातको तथ्यांकले माग बढेको संकेत गरेको हो।

Tata
GBIME
NLIC

चालु आर्थिक वर्ष छैटौं महिनामा आएर आयातमा सुधार देखिएको छ। पुस महिनामा करिब १ खर्ब ६१ अर्ब रुपैयाँ वस्तु आयात भएको छ। यो वर्ष पहिलो पटक आयात डेढ खर्ब नाघेको हो।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात भएको छ। यो आयात पोहोर पहिलो ६ महिनाको तुलनामा ७.०६ प्रतिशत बढी हो।

यसपालि मंसिरको तुलनामा पुसमा आयात १३ अर्ब रुपैयाँले बढेको छ।

आयात धेरै हुने वस्तुको सूचीमा पहिलो नम्बरमा डिजल छ। ६ महिनामा ५४ अर्ब ३६ करोडको डिजल, ३२ अर्ब १४ करोडको पेट्रोल र २९ अर्ब ७९ करोड रुपैयाँको एलपी ग्यास आयात गरिएको छ।

भटमासको तेलको कच्चा पदार्थ धेरै आयात गरिएको वस्तुको सूचीमा पाँचौं नम्बरमा छ। यो २० अर्ब १७ करोडको ल्याइएको छ। भटमासको तेलको कच्चा पदार्थ अर्जेन्टिनाबाट ल्याइएको हो।

सनफ्लावर तेलको कच्चा पदार्थ धेरै आयात गरिने वस्तुको सूचीमा ८औं नम्बरमा छ। यो कच्चा पदार्थ युक्रेनबाट ११ अर्ब ६७ करोड रुपैयाँ बराबरको ल्याएको छ।

निर्यात ३१.६८ प्रतिशतले बढेको छ। ६ महिनामा ९८ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको तथ्यांक छ। यसमध्ये २५ अर्ब १३ करोड रुपैयाँ बराबरका वस्तु पुसमा निर्यात भएका हुन्।

निर्यात बढाउने मुख्य वस्तु भटमास र सनफ्लावर तेल हुन्। ६ महिनामा भटमासको तेल १८ अर्ब ९१ करोड तथा सनफ्लावरको तेल ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको निर्यात गरिएको छ। निर्यातबाट धेरै कमाइ गर्ने वस्तुको सूचीमा भटमासको तेलपछि कार्पेट छ। साउनदेखि पुससम्म ५ अर्ब ६१ करोड रुपैयाँको कार्पेट निर्यात गरिएको छ।

६ महिनामा अलैंची निर्यातबाट ४ अर्ब ५६ करोड तथा चिया निर्यातबाट २ अर्ब ९६ करोड रुपैयाँ आम्दानी भएको छ।