
काठमाडौं। मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाको सुनुवाई लम्बिन पुगेको छ।
सरकारी पक्षका कारण आइतबारको पेसी स्थगित गर्नुपरेको छ। मुद्दाको पेसी आइतबार तोकिएकामा सरकारी पक्षका वकिलले विभिन्न बहाना देखाउँदै पेसी स्थगित गराएका हुन्।
अदालतका अनुसार सरकारी वकिल कोही उपत्यका बाहिर रहेको, तालिममा गएको तथा काजमा अन्तै खटिएको भन्दै आइतबार अनुपस्थित भए। अर्को पेसीको मिति तय भइसकेको छैन।
पछिल्लो पटक गत पुस ७ गतेको पेसीमार्फत अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले साक्षी बुझ्न आदेश दिएको थियो।
आइतबार पनि यिनै ३ जना न्यायाधीशको इजलासमा मुद्दाको पेसी चढेको थियो। एमडीएमएससम्बन्धी मुद्दाको पेसी अहिलेसम्म ८ पटक चढेकामा ४ पटक भने स्थगित भएको छ।
अख्तियारले एमडीएमएस खरिदमा अनियमितता भएको भन्दै प्राधिकरणका दुई पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गरि गत चैत १५ गते मुद्दा दायर गरेको थियो। पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित १४ जनाविरुद्ध थप २३ करोड रुपैयाँ बिगो कायम गरिएको छ।