
काठमाडौं । यतिबेला देशभर हरिया तरकारीको उत्पादन हुने सिजन हो। काउली, मुला, साग, सिमी, आलु लगायतका तरकारी ठूलो परिमाणमा बजारमा भित्रिइरहेको छ। गत महिनासम्म उलेख्य परिमाणमा आन्तरिक उत्पादन भइसकेको थिएन। भाउ उच्च थियो।
प्रति केजी १५० रुपैयाँसम्म रहेको काउलीको भाउ अहिले घटेर कालीमाटीको थोक बजारमा १० देखि १५ रुपैयाँ छ। किसानले प्रति केजी १० रुपैयाँमा बेच्न खोज्दा पनि काउलीको बिक्री सहज छैन। काउली मात्र होइन बन्दा र गोलभेंडा लगायतका तरकारी कहिलेकाँही नबिकेर किसानले सडकमा फाल्ने गरेका छन्।
देशभरबाट उत्पादन एकैपटक बजारमा आउने भएपछि मागभन्दा आपूर्ति परिमाण निकै उच्च हुन्छ। जसले गर्दा अधिकांश मौसमी तरकारीको भाउ घट्ने गर्छ। उत्पादक किसानकहाँ मूल्य घटेर लागत पनि नउठ्ने भइरहँदा सहरी क्षेत्रमा उपभोक्ताको अपेक्षाअनुसार भाउ घटेको हुँदैन।
एकातिर किसानले बिक्री नभएर फाल्नुपर्ने अवस्था आइरहँदा मौसमी तरकारी शीत भण्डारमा राख्ने सुविधाको उपयोग नै छैन। सिजनको अन्तिममा भाउ निकै बढ्छ, तर ती तरकारी न किसानसँग पर्याप्त हुन्छ न त शीत भण्डारमै राखिएका हुन्छन्। त्यसबेला आयातित तरकारीले बजार पाउँछ।
बाहिरी मुलुकमा हरिया तरकारी र फलफूल ६ महिनासम्म स्टोर गरेर स्थानीय बजारसँगै अन्य मुलुकमा निर्यात गरिन्छ। नेपालमा किसानले लागत भन्दा सस्तो मूल्यमा बिक्री हुँदा यस्ता तरकारीलाई केही समय कोल्ड स्टोरमा भण्डार गरेर अफसिजन र उत्पादन कम भएको बेला बजारमा बिक्री गर्ने प्रयास सुरु हुन सकेको छैन।
यसरी सिजनमा उत्पादन भएका तरकारी बढी भएमा कोल्ड स्टोरमा राख्ने व्यवस्था हुन सकेको छैन।

नेपालमा विदेशमा जस्तो ताजा तरकारी कोल्ड स्टोर गरेर र फ्रेजेन राख्ने व्यवस्था नभएको मन्त्रालयका कृषि विभागका राम कृष्ण श्रेष्ठ बताउँछन्।
दैनिक रुपमा बजारमा कारोबार हुने ताजा हरिया तरकारी कोल्ड स्टोरमा राख्नु नपर्ने उनी बताउँछन्।
‘नेपालमा सामान्य कोल्ड स्टोर नभइ मल्ट्री च्याम्बर हुनु पर्छ। अहिले केहि ठाउँमा खुल्न थालेको छ। केही प्रदेशमा आलु र फलफूल स्टोर गरिदै आएको छ। फ्रेस तरकारी कोल्ड स्टोर गरेर राख्ने र खाने बानी परिनसकेको छैन्। जसले गर्दा हालको लागि हरिया तरकारी कोल्ड स्टोर सम्भव नभएको हो,’ उनले भने।
कतिपय ठाउँमा कोल्ड स्टोर भए पनि पूर्ण रुपमा संचालन नभएको कृषि विभागले जनाएको छ। हाल देशभर ठुला बजारमा ५० वटा ठुलो कोल्ड स्टोर संचालनमा रहेको कृषि विभागका महानिर्देशक प्रकाश कुमार संजेलले जानकारी दिए।
१००० टन देखि १५०० टन क्षमता रहेको ती कोल्ड स्टोरहरुमा ७० प्रतिशतमात्र संचालन भएको र त्यो पनि पूर्ण क्षमतामा संचालन भएका छैनन्।
‘अहिले बजारको माग अनुसार तरकारी छन्। धेरै भएर भाउ कम हुँदा कोल्ड स्टोरमा राख्नु पर्ने हो। अहिले त्यो अवस्था छैन्,’ उनले भने।
केही ठाउँहरुमा १० टनभन्दा बढी क्षमताका कोल्ड स्टोरहरु १०० भन्दा धेरै छन्। किसानले खेतबारीबाटै तरकारी बिक्री गरिरहेका छन्। किसनाले पनि तरकारी कोल्ड हाउसमा राख्न नमान्ने उनले अनुभव छ।
यतिबेला केही जिल्लाहरुमा सुन्तला र आलुमात्र कोल्ड स्टोर गरेर राख्ने गरिएको छ।
त्यस्तै, फलफूल तथा तरकारी महासंघका पूर्व अध्यक्ष खेम प्रसाद घिमिरेले सिजनल तरकारी कोल्ड स्टोरमा राख्ने व्यवस्था नभएको बताउँछन्।
‘केही समययता केही ठाउँमा तरकारी राख्न थालिएको छ। दुई महिनासम्मको लागि कोल्ड स्टोर गरिन्छ। त्योभन्दा बढी राख्नेका लागि ठुलो परिमाणमा तरकारी उत्पादन हुनुपर्छ’ उनले भने।
कोल्डस्टोरको क्षमता भन्दा कम तरकारी राख्दा लागत धरै हुने पर्ने गरेको सरोकारवालाहरु बताउँछन्।।
‘नेपालमा हरिया तरकारीको भण्डारन गर्नका लागि कोल्ड स्टोर भन्दा पनि मल्ट्रि च्याम्बर कोल्ड स्टोर हुनुपर्छ। यसमा सिजन अनुसारका विभिन्न फलफूल तथा तरकारी तापक्रम अनुसार राख्न सकिन्छ। जसले गर्दा सिजनल तरकारी आलु र सुन्तला र स्याउ बाहेक अन्य तरकारी र फलफूल कोल्ड स्टोरमा नराखिएको हो,’ महासंघका पूर्व अध्यक्ष घिमिरेले भने।
महासंघका अनुसार हाल उपत्यका भित्र बालाजु ,भक्तपुर र बल्खुमा फलफूल र केही हरिया तरकारी स्टोर हुने गरेको छ।