खुम्बुमा हेलिकोप्टर उडानमा अवरोध नहटाइएकामा संघ आक्रोशित, हवाई यातायात ठप्प पार्ने चेतावनी

बिजमाण्डू
२०८१ माघ २ गते १६:४१ | Jan 15, 2025
खुम्बुमा हेलिकोप्टर उडानमा अवरोध नहटाइएकामा संघ आक्रोशित, हवाई यातायात ठप्प पार्ने चेतावनी


काठमाडौं। खुम्बु क्षेत्रमा स्थानीय सरकारले हेलिकोप्टर उडानमा अवरोध नहटाएपछि वायुसेवा कम्पनीहरुले सोलुखुम्बु जिल्लामा सम्पूर्ण हवाई यातायात नै ठप्प पार्ने चेतावनी दिएका छन्।

Tata
GBIME
NLIC

वायुसेवा सञ्चालक संघले बुधबार प्रेस विज्ञप्ति जारी गरी खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टर उडानमा अवरोध कायमै राखेको भन्दै जिल्लाभर हवाई यातायात ठप्प पार्ने चेतावनी दिएको हो।

जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टर उडानमा अवरोध गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएपनि गाउँपालिकाले विभिन्न हेलिप्याडमा अवरोध कायमै राखेको भन्दै समस्या समाधानका लागि माघ ९ गतेसम्मको अल्टिमेटम दिएको छ।

‘माघ ९ भित्र पूर्ण सुरक्षाको प्रत्याभूति गरी समस्या समाधानका लागि आग्रह गर्छौं। अन्यथा सोलुखुम्बुभित्र उडान गर्ने स्टल सदस्य वायुसेवा कम्पनीहरुले समेत सम्पूर्ण हवाई सेवा स्थगित गर्नुपर्ने अवस्था सिर्जना हुनसक्ने सम्बन्धित पक्षलाई अवगत गराउन चाहन्छौं,’ संघका अध्यक्ष मनोज कार्कीले विज्ञप्तिमा भनेका छन्।

खुम्बु क्षेत्रमा पुस २१ देखि हेलिकोप्टर उडान हुन सकेको छैन। खुम्बु क्षेत्रमा दैनिक १० वटाभन्दा बढी माउन्टेन फ्लाइट हुँदै आएकामा अहिले बन्द छ। जसका कारण हेलिकोप्टर कम्पनीले दैनिक १ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेका छन्।

सोलुखुम्बुका जिल्ला प्रमुख अनोज कुमार घिमिरेले समस्या समाधानका लागि माघ ११ गते बैठक राखेको जानकारी दिए।

‘सगरमाथा राष्ट्रिय निकुञ्ज उडान गर्न दिन यसअघि नै तयार भइसकेको छ। हामी अब पालिकाको निर्णयको प्रतिक्षामा छौं। पालिकाले भोलि गाउँ सभा राखेको छ,’ घिमिरेले भने, ‘अत्यावश्यक सेवा बन्द कुनै पनि बहानामा बन्द गर्नु हुँदैन भन्ने हाम्रो भनाइ हो। यस विषयमा छलफलका लागि हामीले सबै सरोकारवालाको उपस्थितिमा ११ गते बैठक राखेका छौं।’