
काठमाडौं। पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनविरुद्ध परेको मुद्दामा थुनछेक बहस सकिएको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव अधिकारीको इजलासमा सोमबार सुरु भएको थुनछेक बहस बुधबार अपराह्न सकिएको हो।
सरकारी वकिलले सोमबार बहस गरेकामा रविका तर्फबाट पूर्वमहान्याधिवक्ता सुशील पन्त र रमण श्रेष्ठले बहस गरेका छन्। त्यसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस भएको थियो।
बहस सकिएकाले बुधबार नै आदेश सुनाउने तयारी रहेको अदालत प्रशासनले जनाएको छ। रविसहित ३९ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर भएकामा दुई जनायसअघि नै धरौटीमा रिहा भएका छन्।
रविलाई जिल्ला अदालत कास्कीले पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। कास्कीमा धरौटी रकम बुझाएर उनी काठमाडौं जिल्ला अदालतमा २८ गते आफैं हाजिर भएका थिए। त्यो दिन अदालतले उनको बयान लिएको थियो।