
काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडानमा बैंकक जाने यात्रुका लागि थाइ एयर एसियाले अनलाइनबाट टिकट बेच्न सुरु गरेको छ। थाइ एयर एसियाले मंगलबारदेखि अनलाइनबाट टिकट बेच्न सुरु गरेको हो।
तीन महिनादेखि बैंकक-भैरहवा-बैंकक नियमित उडान गर्दै आएको थाइ एयर एसियाको नेपालका लागि आधिकारीक जनरल सेल्स एजेन्ट युनिभर्सल टुर्स एण्ड ट्राभल हो।
‘यसअघि भैरहवा-बैंकक उडानका लागि कम्पनीको आधिकारीक टिकट काउन्टरबाट टिकट बिक्री हुँदै आएको थियो। आजबाट यात्रुले सिस्टमबाट टिकट बुक गर्न सक्छन्,’ कम्पनीका एक कर्मचारीले भने, ‘यात्रुको माग अनुसार हामी उडान संख्या विस्तार गर्दै जानेछौं।’
कम्पनीले हाल साताको दुईवटा उडान गर्ने अनुमति पाएकामा यात्रु कम रहेका कारण सातामा एउटा मात्र उडान गर्दै आएको छ।