रोयल टुलिपको महाप्रबन्धकमा बलराम पाठक नियुक्त, हस्पिटालिटी उद्योगमा ३ दशकको अनुभव  

बिजमाण्डू
२०८१ माघ १ गते १३:५४ | Jan 14, 2025
रोयल टुलिपको महाप्रबन्धकमा बलराम पाठक नियुक्त, हस्पिटालिटी उद्योगमा ३ दशकको अनुभव  


काठमाडौं । ललितपुरको ग्वार्कोस्थित ५ तारे होटल रोयल टुलिपको महाप्रबन्धकमा बलराम पाठक नियुक्त भएका छन्।

Tata
GBIME
NLIC

तीन दशक अगाडि देखि हस्पिटालिटी क्षेत्रमा आवद्ध पाठकलाई औपचारिक रुपमा रोयल टुलिपको महाप्रबन्धकमा नियुक्त गरिएको गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए।

‘उहाँले ३० वर्ष भन्दा बढी होटल उद्योगको अनुभव बटुलिसक्नु भएको छ। उहाँको अनुभव मार्फत रोयल टुलिपको व्यवस्थापनमा थप टेवा पुर्‍याउने उद्धेश्यले महाप्रबन्धकको जिम्मेवारीमा नियुक्त गरिएको हो,’ शाक्यले भने। 

सन् २००४ मा द क्राउन प्लाजा काठमाडौंबाट ‘मोस्ट आउट स्टाण्डिङ डाइरेक्टर अफ एसिया एण्ड प्यासिफीक’मा मनोनित भइसकेका उनलाई सन् २००५ मा इन्टरकन्टिनेन्टल होटल ग्रुपले ‘मोस्ट आउटस्ट्याण्डिङ होटल ग्रुप’को उपाधि दिएको थियो।  

उनले राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री पदक पनि प्राप्त गरिसकेक छन्।

गुण समूहको ६ अर्ब लागतमा तयार द म्यासिफ होटलको व्यवस्थापन फ्रान्सेली अन्तर्राष्ट्रिय चेन रोयल टुलिपले गरेको हो।

पहिलो चरणमा कन्फ्रेन्स हल, सेमिनार हल सञ्चालनमा आइसकेको छ। होटलले ३ महिनापछि रुमसहितको सेवा संचालनमा ल्याउने तयारी गरिरहेको छ।

१६ रोपनी क्षेत्रफलमा रहेको होटलमा ३०२ वटा कोठा रहेका छन्। होटलमा ६ वटा हल र ३ वटा बैंक्वेट हल छन्। जसको क्षमता तीन हजार व्यक्ति अट्नेछ।

होटलमा ६०० वटा चारपांग्रे सवारीसाधन पार्किङको क्षमता छ। होटलमा १२ वटा एलिभेटर्स, वाटर ट्रिटमेन्ट प्लान्ट, आफ्नै बोटलिङ प्लान्ट रहेका छन्।