सार्क बैठक राखौं भन्दा आरजुलाई जयशंकरको प्रश्न : तिम्रो नागरिक मरेको भए मिटिङ गर्न सक्थ्यौ?

बिजमाण्डू
२०८१ पुष २९ गते १४:२८ | Jan 13, 2025
सार्क बैठक राखौं भन्दा आरजुलाई जयशंकरको प्रश्न : तिम्रो नागरिक मरेको भए मिटिङ गर्न सक्थ्यौ?
File Photo

काठमाडौं । सन् २०१४ मा काठमाडौंमा सार्क सम्मेलन भएयता कुनै पनि बैठक बस्न सकेको छैन। एक दशकदेखि सार्क सम्मेलन हुन नसक्दा अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले बैठक गराउन पहल नगरेको भने होइन। तर, सफलता भने लागेको छैन।

Tata
GBIME
NLIC

१९ औं सार्क सम्मेलन पाकिस्तानमा हुने तय भएको थियो। तर, भारत र पाकिस्तानको बिग्रँदो सम्बन्धका कारण बैठक बस्ने टुंगो छैन। सार्क चार्टर अनुसार कुनै पनि देशको सहमति बिना बैठक बोलाउन मिल्दैन। हाल सार्कमा ८ वटा देश छन्।

भारत सार्क ब्युताउँने पक्षमा अहिले छैन। तर, बेलाबेला सार्कबारे चर्चा हुने गर्छ दक्षिण एसियाली देशमा।

आज पनि अन्तर्राष्ट्रिय समितिमा सार्कबारे परराष्ट्र मन्त्री आरजु राणा देउवालाई सांसदहरुले प्रश्न गरेका थिए। सार्क सम्मेलन किन हुन नसकेको भन्ने प्रश्न सांसदहरुको थियो।

जवाफमा परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपालले मात्रै चाहेर सम्मेलन हुन नसक्ने बताएकी थिइन्।

राणाले सार्कबारे भारतीय विदेश मन्त्री एस जयशंकरसँग छलफल गरेको बताइन्छ। र, जयशंकरको उत्तर सुनाइन्।

‘मैले सार्क सम्मेलनबारे कुरा उठाएको हुँ। एस जयशंकरले तिम्रो देशको नागरिक मरेको भए बैठक राख्न सक्थ्यौ? भनेर प्रश्न गर्नुभयो। त्यस पछि मैले केही भन्न सकेको छैन,’ आरजुले भनिन्।

भारत अहिले सार्क बैठक बोलाउने पक्षमा छैन। क्रिकेट लगायतका प्रतियोगितासमेत पाकिस्तानमा हुँदा भारतले ‘न्यूट्रल भेन्यू’ छान्न दबाब दियो। हाल भारतले सार्क भन्दा ब्रिक्स र बिम्सटेक जस्ता अन्य क्षेत्रीय संगठनलाई महत्व दिइएको छ।

यी क्षेत्रीय संगठन भन्दा नेपालको हित सार्कमै हुने कूटनीति विश्लेषकहरु बताउँछन्।

‘नेपालले नजर अन्दाज गरेको होइन। साइड लाइनमा पनि कुरा उठाउन खोजेका थियौं। तर भएन,’ राणाले आजको बैठकमा भनिन्।