सातामै एक लाखभन्दा बढी भेप बरामद, लाखौं राजस्व छलेर कसले ल्याइरहेको छ?

बिजमाण्डू
२०८१ पुष २८ गते २१:३३ | Jan 12, 2025
सातामै एक लाखभन्दा बढी भेप बरामद, लाखौं राजस्व छलेर कसले ल्याइरहेको छ?

काठमाडौं। सरकारले इलेक्ट्रिक चुरोट (भेप) लाई आयातका लागि खुल्ला गरे पनि तस्करले अवैध रुपमा भित्र्याउन नछाडेको तथ्य बाहिर आएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले केही महिनाअघि ठूलो परिमाणमा भेप बरामद गरेका थिए।

Tata
GBIME
NLIC

तर गत मंगलबार मात्र राजस्व अनुसन्धान विभागको टोलीले ललितपुरको इमाडोलमा स्टोर गरेर राखेको अवस्थामा उल्लेख्य परिमाणमा भेप बरामद गरेको छ। जसले देशभित्र भेपको अवैध तस्करी भइरहेको देखाएको छ। इमाडोल क्षेत्रबाट राजस्वको टोलीले मंगलबार ५ सय १ कार्टुन अर्थात ८६ हजार पिस भेप बरामद गरेको थियो।

‘नियन्त्रणमा लिइएका दुई जनामाथि अनुसन्धान भइरहेको छ,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीराज घिमिरेले भने।

पक्राउ परेका दुई जनाविरुद्ध पहिलो पटक प्रहरीले सात दिन हिरासतमा राख्ने अनुमति लिएको थियो। राजस्वको टोलीले अहिले भेप चीनबाट नेपाल आएर भारत जान सक्ने अनुमान गरी अनुसन्धान गरिरहेको छ।

एक साताको अवधिमा अन्य जिल्लाबाट पनि भेप बरामद भइरहेको छ। सशस्त्र प्रहरीले पनि मुस्ताङमा १९ हजार पिस भेप बरामद गरेको थियो। राजस्व अनुसन्धान विभागले अहिले यही विषयमा अनुसन्धान गरिरहेको छ। यही सातामा पथलैयामा पनि ४ हजार पिस भेप बरामद भयो।

त्यस्तै यसै सातामा बुटवलमा पनि २ हजार ६ सय ३० पिस भेप बरामद भएको थियो। भेरी ट्रान्सपोर्टको लु प ३००१ ख ०११४ नम्बरको गाडीमा ल्याइएको उक्त परिमाणको भेप बरामद भएको हो। डायमन्ड नेपाल इन्टरनेशनलका रोजन न्यौपाने र सनाउल्लाह अन्सारीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ। उनीहरूको बयानको आधारमा नै थप भेपहरु भेटिएको हो।

‘अनुसन्धान चलिरहेको छ। अरु संलग्नहरूको पनि खोजीमा नै छौं। ठूलो सङ्ख्या भेप आएको देखिएको छ,’ महानिर्देशक घिमिरेले भने।

पछिल्लो समय इमाडोल र मुस्ताङबाट बरामद भएको भेपको सूचना पक्राउ परेका तिनै दुई जनाले दिएका हुन्। त्यही सूचनाको आधारमा प्रहरी र राजस्वले थप अवैध रुपमा आएको भेप बरामद गरेको हो। चीनबाट आएको भेप खरिद गर्ने अन्सारीको श्रीमतीको नाममा तसनीय जनरल स्टोरको फर्म छ। त्यही फर्मले भेप खरिद गरेको देखिएको हो।

सस्तोमा खरिद गरेको भेप उनले भारतको अर्को पार्टीलाई बिक्री गर्ने गरेको देखिन्छ। राजस्व अनुसन्धान कार्यालय बुटवलले ६३ लाख रुपैयाँको बिगो दाबी गर्ने तयारी गरेको छ। पहिलो पटकको हिरासत राख्ने ७ दिनको म्याद सकिएर दोस्रो पटक १० दिन म्याद थप गरिएको छ।

ट्रान्जिट काठमाडौं निर्यात भारत

प्रहरी र राजस्वले बरामद गरेको अधिकांश भेप नेपालबाट भारत जाने गरेको देखिएको छ। बुटवलमा बरामद भएको भेप पनि काठमाडौंबाट बुटवल हुँदै नेपालगन्जबाट भारत लग्ने तयारी गरिएको थियो। नेपालमा भन्दा भारतमा भेपको खपत र बिक्री मूल्य बढी भएकाले पनि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतमा भेप तस्करी भएको देखिएको छ।

चीनबाट रसुवा  र तातोपानी नाका हुँदै काठमाडौं भेप ल्याउने गरिएको छ। तर, पछिल्लो पटक मुस्ताङमा बरामद भएको भेप भने कोरला नाकाबाट ल्याएको देखिन्छ।

‘उनीहरूलाई कुन नाकाबाट भित्र्याउँदा सजिलो हुन्छ। त्यसैलाई नै प्रयोग गरेको देखिन्छ। उनीहरूले नाका समेत फेरिरहेको देखियो,’ अनुसन्धानमा खटिएका एक अधिकृतले भने।

बुटवलमा बरामद भेप काठमाडौंबाट डायमन्ड नेपाल इन्टरनेसनल ल्याएको खुलेको हो। यसका सञ्चालक सुमन शर्मा भने अहिले सम्पर्कमा छैनन्। राजस्व अनुसन्धान कार्यालयले शर्मालाई पहिलो पटक सम्पर्क गरेर कार्यालयमा बोलाएको थियो। तर त्यसपछि भने उनी उपस्थित भएनन्।

‘एक पटक फोन गरेको हो। अहिले उहाँ सम्पर्कमा हुनुहुन्छ। हामी उहाँलाई पनि प्रतिवादी बनाएर मुद्दा ल्यौजाने तयारीमा छौं,’ ती अनुसन्धान अधिकृतले भने।

तस्कर समूहले भेप नेपाल भित्र ल्याउन ढुवानी सेवाको गाडी प्रयोग गर्ने गरेको देखिएको छ। राजस्वको टोलीले ट्रान्सपोर्टको गाडीमा भेप आएको सूचना पाएपछि केही गाडीलाई चेक गर्दा भेप देखिएको हो। नेपालमा एउटा भेपको मूल्य १२ सय रुपैयाँदेखि १० हजारसम्म पर्ने गरेको छ।

बरामद भेपको मूल्य ८ डलर

राजस्वले बरामद गरेको भेपको मूल्य प्रति गोटा ८ डलर भएको खुलेको छ। नेपालमा दुई प्रकारका भेपहरु भित्रिने गरेका छन्।निकोटिन नभएको भेपको जाँच पास गर्दा भन्सार कार्यालयले सङ्ख्याका आधारमा र निकोटिनयुक्तको किलोग्रामका आधारमा राजस्व लिइरहेका छन्।

दुवै प्रकारका भेपको आयात गर्दा तिर्नुपर्ने राजस्वको दर पनि फरक-फरक निर्धारण गरिएको छ। निकोटिनयुक्त भेप आयात गर्दा प्रति किलो ४० प्रतिशत भन्सार महसुल, ४७५ रुपैयाँ अन्तःशुल्क र मूअकर बुझाउनुपर्ने हुन्छ। तर निकोटिनविहीन भेपको आयातमा भन्सार महसुल ५ र अन्तःशुल्क ३० प्रतिशतसहित मूअकर पनि तिर्नुपर्ने हुन्छ।

८ डलरमा कर तिरेपछि यसको मूल्य करिब दोब्बर हुनपुग्छ।