अमेरिकाको क्यालिफोर्निया यतिबेला इतिहासकै सबैभन्दा भयंकर डढेलोबाट प्रभावित बनेको छ। लाखौं हेक्टर जमिन आगलागीको चपेटामा आउँदा घरहरु नष्ट भएका छन्। डढेलोको कारण हजारौं मानिस विस्थापित भएका छन्।
२० मिनेटको समयमा २० एकरबाट आगो २०० एकरसम्म फैलिएको रेकर्ड भएको छ। आगलागी फैलिने क्रम विभिन्न स्थानमा तीव्र भइरहेको छ।
आगो फैलिन रोक्न सकिएको छैन। तीव्र गतिमा चलेको हावा र सुख्खा जमिनले आगो थप फैलिरहेको बताइएको छ।
हालसम्म एक हजारभन्दा बढी घर आगोको चपेटामा आइसकेको छ। जसमा लक्जरियस मानिएका लस एन्जलसका सान्दार भिल्लाहरु समेत छन्।
प्रख्यात हलिउड हिलमा समेत आगो फैलिरहेको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।
यो विपद्मा हालसम्म ५ जनाको मृत्यु भइसकेको छ। पलिसादमा २० हजार एकर भन्दा बढी जग्गा डढेलोबाट प्रभावित बनेको छ। इटनमा १३ हजार एकर, हर्स्टमा ८०० बढी एकर र लिडिया र सनसेटमा पनि कयौं स्थानमा डढेलो लागेको छ।
यी क्षेत्रहरुका करिब २० हजार भन्दा बढी भवन डढेलोबाट प्रभावित भएको हुन सक्ने अनुमान गरिएको छ।
डढेलो नियन्त्रण गर्न नसकेको भन्दै क्यालिफोर्नियाका गर्भनरको आलोचना भइरहेको छ। केही दिनमा नै राष्ट्रपतिको सपथ लिन तयार रहेका डोनाल्ड ट्रम्पले गभर्नरसहित वर्तमान राष्ट्रपति जो बाइडेनको आलोचना गरेका छन्।
रोयटर्सका अनुसार लस एन्जलसमा फैलिएको डढेलोका कारण ५० बिलियन अमेरिकी डलर (६८ खर्ब रुपैयाँ) भन्दा बढीको आर्थिक क्षतिको अनुमान छ।