अन्तर्राष्ट्रिय होटल उद्योगमा नेपाली ब्राण्ड, सोल्टीले पायो युरोपका दुई होटलको जिम्मा

वसन्तराज उप्रेती
२०८१ पुष २५ गते १७:१७ | Jan 9, 2025
अन्तर्राष्ट्रिय होटल उद्योगमा नेपाली ब्राण्ड, सोल्टीले पायो युरोपका दुई होटलको जिम्मा

काठमाडौं । सोल्टी होटल्स एण्ड रिसोर्टले अब विदेशका होटल व्यवस्थापनमा पनि हात हालेको छ। सोल्टीले जर्मनीको फ्र्यांकफर्टस्थित होटलको व्यवस्थापन गर्न सुरु गरेको हो।

Tata
GBIME
NLIC

जर्मनीको ट्रिप इन होटेल समूह अन्तर्गतका दुई होटलको व्यवस्थापन गर्ने सम्झौता गरि सोल्टीले एउटा होटल हेर्न सुरु गरिसकेको छ भने अर्को होटलमा आगामी फागुन १७ देखि जिम्मेवारी सम्हाल्नेछ।

आफ्नो भगिनी कम्पनी स्ट्रीम पिक इन्टरनेसनल प्राइभेट लिमिटेडले सोल्टी वेस्टेण्ड होटलको व्यवस्थापन हेर्न सुरु गरिसकेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाइँले जानकारी दिए।

उनका अनुसार स्ट्रीम पिकले पुस १७ गतेबाट सोल्टी वेस्टेण्ड होटलको व्यवस्थापनको जिम्मा लिएको हो। सोल्टीले जर्मनीको ट्रिप इन समूह अन्तर्गत ट्रिप इन म्यानेजमेन्ट एण्ड सर्भिस लिमिटेड र ट्रिप इन रिजेन लिमिटेडसँग सम्झौता गरेको छ।

ट्रिप इन होटल समूह अन्तर्गत युरोपका विभिन्न शहरमा ५० भन्दा बढी होटल संचालनमा छन्। ती होटलमा ३२०० कोठा छन्।

सम्झौता अनुसार सोल्टी वेस्टेण्ड प्रिमियरको व्यवस्थापन फागुन १७ देखि सम्हाल्ने चापागाइँले जानकारी दिए।

‘सोल्टीले आफ्नो विरासत अब विदेशमा विस्तार गरेको छ। नेपाली आतिथ्य सत्कारलाई हामीले युरोपमा प्रवेश गराएका छौं,’ उनले भने, ‘युरोपेली अमेरिकी पर्यटकमा नेपाली संस्कृति, आतिथ्यता प्रवर्धन होस् भन्ने उद्देश्यले दुई होटलको व्यवस्थापनको जिम्मा लिएका हौं। हाम्रो ५५ वर्षको अनुभवले पनि आत्मविश्वास बढाएको हो।’

सोल्टी विदेशका होटलको व्यवस्थापन गर्ने नेपालको पहिलो अन्तर्राष्ट्रिय ब्राण्ड बनेको छ। ‘अहिले हामी इन्टरनेसनल ब्राण्ड हौं। हामी सस्तो छैनौं। हाम्रो व्यवस्थापन शुल्क अन्तर्राष्ट्रियस्तरकै छ। हामी प्राथमिकतामा परिरहेका पनि छौं,’ उनले भने, ‘विदेशमा नेपाल र सोल्टीको झण्डा फहराउनु हाम्रो सपना थियो। तीन वर्षमै हामीले यति गर्छौं भन्ने थिएन तर छिट्टै यो चरणमा पुग्यौं।’

सोल्टीले अहिले मुलुकभित्रका १२ वटा होटलमा आफ्नो ब्राण्ड व्यवस्थापनका लागि सम्झौता गरिसकेको छ। तीमध्ये आठवटा सञ्चालनमा छन्। अबको पाँच वर्षमा देशभित्र २० र विदेशमा ३० वटा होटलको व्यवस्थापन गर्ने कम्पनीको लक्ष्य छ।

सोल्टीले व्यवस्थापन सम्हालेको सोल्टी वेस्टेण्डमा ५० वटा कोठा छन्। कोठा अत्याधुनिक सुविधासहितको भएको होटलले जनाएको छ। यस्तै सोल्टी वेस्टेण्ड प्रिमियरमा २३६ वटा कोठा छन्।

दुवै होटल जर्मनीको फ्र्यांकफर्टमा गैलसवर्ट एस-वान रेलवे स्टेसन नजिक पर्छन्। होटलबाट फ्र्यांकफर्ट व्यापार मेला सेन्टर नजिकै पर्छ।

‘युरोपका होटलले व्यवस्थापनका लागि हामीलाई विश्वास गर्नु ठूलो कुरा हो। हामीले यसलाई ठूलो उपलब्धिका रुपमा लिएका छौं। हामीले यो जिम्मेवारीलाई अन्तर्राष्ट्रिय जगतमा आफ्नो उपस्थिति बढाउने खुड्किलोका रुपमा लिएका छौं,’ चापागाइँले भने, ‘होटल व्यवस्थापनमा हामी कुनै सम्झौता गर्ने छैनौं। हाम्रो सबै क्षमतामा व्यवस्थापनमा प्रयोग गर्छौं।’

सन् १९६६ मा द सोल्टी काठमाडौंबाट आतिथ्य सत्कार क्षेत्रमा प्रवेश गरेको सोल्टीले करिब ६ दशकपछि विदेशमा पाइला चालेको हो।

पाँच वर्षअघिसम्म सोल्टीको व्यवस्थापन विदेशी कम्पनीले हेर्दै आएका थिए। यसअघि आफ्नो व्यवस्थापन भारतको ओभरोय र बेलायतको आईएचजीले हेरेकामा सोल्टीले अहिले आफैं विदेशका होटलको व्यवस्थापन गर्ने क्षमता विकास गरेको हो।