सौर्य एयरलाइन्स पाँच महिनापछि रिब्याकको तयारीमा, पुसभित्र पुनः व्यावसायिक उडान गर्दै  

बिजमाण्डू
२०८१ मंसिर २४ गते १३:३३ | Dec 9, 2024
सौर्य एयरलाइन्स पाँच महिनापछि रिब्याकको तयारीमा, पुसभित्र पुनः व्यावसायिक उडान गर्दै  

काठमाडौं। जहाज दुर्घटनाका कारण नियमित व्यावसायिक उडान बन्द रहेको सौर्य एयरलाइन्सले पुसभित्र पुनः सेवा सञ्चालनमा ल्याउने भएको छ। सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको कम्पनीले बताएको छ।

Tata
GBIME
NLIC

कम्पनीका बजार प्रमुख मुकेश खनालले उडान पुन: सुरु गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को प्रक्रिया पूरा गर्ने काम अन्तिम चरणमा रहेको बताए।

‘हामी पुसभित्र पुनः नियमित व्यावसायिक उडान गर्ने तयारीमा छौं। क्यानको सर्त अनुसार एसेसमेन्ट सकिएको छ। अब स्वीकृति प्राप्त हुन बाँकी छ,’ बजार प्रमुख खनालले भने, ‘सेवा सञ्चालनका लागि इन्जिनयर देखि मर्मत, सुरक्षा, गुणस्तर लगायत काम हेर्न आवश्यक जनशक्ति भर्ना गरिसकेका छौं।’

सौर्य एयरलाइन्सको उडान गत साउन १० देखि बन्द छ। एयरलाइन्सको जहाज काठमाडौंबाट पोखरामा उडान गर्ने क्रममा गत साउन ९ गते त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। क्याप्टेन मनिषरत्न शाक्य भने बाँच्न सफल भएका थिए।

एयरलाइन्सले तीन अर्ब खर्च गरी १ वर्षमा २ वटा एटीआर ७२-६०० सिरिजको जहाज ल्याउने योजना अगाडि बढाएको खनालले जानकारी दिए।

‘६ वर्षदेखि नै हामी एटीआरमार्फत सेवा दिने योजनामा थियौं। तर विविध कारण सफल हुन सकेका थिएनौं। यो पटक हामी एटीआर जहाजमार्फत सेवा दिने गरी अगाडि बढिरहेका छौं,’ उनले भने।

क्यानले जहाज थप्न अनुमति दिएलगत्तै प्रक्रिया अगाडि बढाउने खनालले बताए। हाल कम्पनीसँग बम्बार्डियर कम्पनीका २ वटा सीआरजे-२०० जहाज रहेकामा एउटा मात्र उडानयोग्य छ।