ब्याजदर उच्चदरले घटेपछि निक्षेप निरुत्साहित, अनौपचारिक क्षेत्र मौलाउने खतरा

आकाश बोगटी
२०८१ मंसिर २३ गते १५:२३ | Dec 8, 2024
ब्याजदर उच्चदरले घटेपछि निक्षेप निरुत्साहित, अनौपचारिक क्षेत्र मौलाउने खतरा

काठमाडौं। पछिल्लो १४ महिनायता बैंकहरुले ब्याजदर निरन्तर घटाउँदा त्यसको असर निक्षेपमा परेको छ।

Tata
GBIME
NLIC

कर्जाको माग बढ्न नसकेका कारण बैंकहरु लागत कम गर्ने रणनीतिमा लागेपछि घट्दो ब्याजदरले निक्षेप निरुत्साहित हुन पुगेको छ। पछिल्लो डेढ महिनामा बैंकिङ प्रणालीबाट २३ अर्ब रुपैयाँ लगानीयोग्य रकम घटेको छ।

बैंकिङ प्रणालीमा असोज अन्तिममा ६६ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप रहेकोमा अहिले (मंसिर १८ गते) ६६ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ। जानकारहरुले निक्षेप यसरी घट्नुलाई ब्याजदरमा निरन्तर गिरावट मुख्य कारण भएको बताएका छन्।

कर्जाको माग बढ्न नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले २०८० असोजदेखि निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन्। २०८० असोजमा औसत ब्याजदर बचतको ५.९४ र मुद्दती निक्षेपको १०.२६ प्रतिशत रहेकामा अहिले ३.३२ र ७.४३ प्रतिशतमा खुम्चिएको छ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा घट्दो ब्याजदरका कारण निक्षेप क्रमश: निरुत्साहित हुन थालेको बताउँछन्। बैंकमा राखेको पैसाको रिटर्न नै नभएपछि निक्षेप निरुत्साहित हुनु स्वभाविक भएको उनको भनाइ छ।

‘बैंकहरुको कोष लागत (कष्ट अफ फण्ड) ५ प्रतिशतमा सीमित भएको छ। बचतको ब्याजदर नै ३ प्रतिशतमा झरेको छ,’ उनले भने, ‘मानिसहरुले पैसा आफैं छाप्छन् भनेजस्तै गरी ब्याजदर निक्कै घटाइयो। जसले गर्दा निक्षेपकर्ता निरुत्साहिहत भएका छन्।’

उनको बुझाइमा निक्षेपकर्ता अहिले लगानीका अन्य विकल्पको खोजीमा छन्। ‘बैंकमा पैसा नराख्ने भन्ने त होइन, तर मुद्दतीमा राखेर आर्जन गर्नका लागि ब्याजदर नै भएन,’ उनले भने, ‘बैंकमा राख्दा ब्याज नै नपाइ भएपछि अनौपचारिक अर्थतन्त्र बढ्ने सक्भावना रहन्छ। यो कसैका लागि पनि राम्रो कुरा होइन।’

अर्थशास्त्री थापाले निक्षेप निरुत्ससाहित हुने क्रम बढे त्यसले बैंकहरुमा लगानीयोग्य रकम अभावको अवस्था आउन सक्ने औंल्याए।

‘अहिले बैंकहरुमा अधिक तरलता भएको अवस्था हो। तत्काल लगानीयोग्य रकम अभाव नहोला। तर निक्षेप निरुत्साहित हुने क्रम बढ्यो भने त्यसले आगामी दिनमा लगानीयोग्य रकमको अभाव हुन्छ। जसले आर्थिक वृद्धिमै असर पर्छ,’ उनले भने।

सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ। यो लक्ष्य प्राप्तिका लागि कर्जा साढे १२ प्रतिशतले बढ्नुपर्छ।

राष्ट्र बैंकले यो वर्ष १२.५ प्रतिशतले कर्जा विस्तार हुने लक्ष्य लिए पनि साढे ४ महिनामा जम्मा १४२ अर्ब कर्जा गएको छ। कर्जाको माग सुस्त हुँदा लगानीयोग्य रकम बैंकमा थुप्रिएको अवस्था छ।

बैंकहरुमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले निरन्तर पैसा तान्नु परिरहेको छ। बैैंकहरुले लगानी गर्न नसकेपछि आफ्नो लागत कम गर्न निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन्।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले पनि घट्दो ब्याजदर नै निक्षेपमा गिरावटको कारण भएको बताए। ‘पछिल्लो एक डेढ महिनामा निक्षेप थोरै घटेको छ। ब्याजदर न्यून भएपछि पैसा बैंकिङ प्रणालीबाहिर जानु स्वाभाविक हो,’ उनले भने।

राष्ट्र बैंकले भने बैंकिङ प्रणालीमा निक्षेप घटेको विषयलाई त्यति गम्भिरतापूर्वक लिएको छैन। ‘पछिल्लो समय निक्षेप केही घटेको देखिन्छ। तर, धेरै नै डिस्करेज भएको भन्ने होइन। ब्याजदर घट्दै जाँदा केही मात्रामा निक्षेप निरुत्साहित हुन्छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘बैंकहरुमा अधिक तरलता छ। त्यसकारण अहिले निक्षेप केही घट्दा आत्तिहाल्नुपर्ने अवस्था छैन।’

केन्द्रीय बैंकले ब्याजदर धेरै तल नजाओस भनेर ३ प्रतिशत ब्याजदरमा बैंकहरुले राष्ट्र बैंकमा पैसा राख्ने व्यवस्था गरेको छ। यो व्यवस्था अन्तर्गत नै बैंक तथा वित्तीय संस्थाले ८ दिनको अन्तरमा १ खर्ब २० अर्ब रुपैयाँ राष्ट्र बैंकमा राखेका छन्।