
काठमाडौं। सुदूरपश्चिम रोयल्सको अपराजित र लुम्बिनी लायन्सको जितविहीन यात्रा कायमै रहेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सम्पन्न पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनीमाथि ४५ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। १ सय ८८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी ९ विकेट गुमाएर १४२ रनमा समेटियो।
लुम्बिनीका ओपनर लगातार दोस्रो खेलमा पनि फ्लप रहे। अघिल्लो खेलमा पोखरा एभेन्जर्सविरुद्ध दुवै ओपनर डकआउट भएकोमा आज पनि दुवैले दोहोरो अंकको रन जोड्न सकेनन्। अर्जुन साउद डकआउट हुँदा उन्मुक्त चन्दले ४ रन बनाए। दुवैलाई स्कट कुगेलेइनले एलबीडब्लु आउट गरे।
अघिल्लो खेलमा प्रभावशाली ब्याटिङ गरेका कप्तान रोहितकुमार पौडेल सुदूरपश्चिमविरुद्ध भने ५ रन बनाएर ब्राण्डन म्याकमुलेनको बलमा इशान पाण्डेबाट क्याचआउट भए। त्यस्तै टम मुरेसले ७ रन बनाउँदा साद बिन जफर गोल्डन डक भए। यी दुईलाई पनि म्याकमुलनले नै आउट गराए।
३.३ ओभरमा साद बिन जफरको विकेट गुम्दा ५-१९ को अप्ठ्यारो अवस्थामा रहेको लुम्बिनीलाई सुन्दिप जोरा र विवेक यादव मिलेर स्कोर उकास्ने प्रयास गरे। यी दुईले ३७ रनको साझेदारी गरे।
२० रन बनाएका जोरालाई १०.२ ओभरमा अभिनास बोहराले वसन्त खत्रीबाट क्याचआउट गराए। त्यसपछि आएका दिनेश अधिकारीलाई ऐरीबाट क्याचआउट र रामोन सिमोण्डलाई बोल्ड आउट गर्दै सैफ जैबले लगातार दुई सफलता हात पारे।
लुम्बिनीको क्रिजमा एकल प्रभाव विवेक यादवको रह्यो। उनले ५४ बलमा ३ चौका र ७ छक्काको सहायतामा अविजित ७७ रन बनाए।
जारी प्रतियोगितामा यो लुम्बिनीको लगातार तेस्रो हार हो। यसअघि पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको लुम्बिनीले दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग हार ब्यहोरेको थियो। अर्कोतर्फ सुदूरपश्चिमको लगातार दोस्रो जित हो। यसअघि सुदूरपश्चिमले विराटनगर किंग्स र काठमाडौं गुर्खाजलाई हराएको थियो।
आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स भिड्दैछन्।
सम्बन्धित समाचार: सुदूरपश्चिमका सैफको सानदार अर्धशतक, लुम्बिनीलाई १ सय ८८ रनको लक्ष्य
सम्बन्धित समाचार: सुदूरपश्चिम रोयल्स टस हारेर ब्याटिङ गर्दै, दुई हारले दवाबमा छ लुम्बिनी लायन्स