काठमाडौं। बिहीबार दिउँसो साढे २ बजे मालपोत कार्यालय डिल्लीबजार पुग्दा रङरोगन चलिरहेको थियो। कामदारहरु तेस्रो तलाको भुईँमा प्लास्टिक ओछ्याएर सिलिङमा रंग लगाउँदै थिए। मालपोतका अधिकांश फाँट यही तलामा छन्।
रजिस्ट्रेसन नम्बर ख मा मालपोत अधिकृत गौरी कार्कीसहित तीन कर्मचारी सेवाग्राही पर्खिरहेका थिए। ‘एकजना पनि छैनन्। के भएको होला है। हिजो पनि थिएनन्। आज पनि छैनन्,’ कार्की भन्दै थिइन्।
काठमाडौं महानगरपालिका-१, ४, १९, १७, २१, २५, ३०, ३१ र २३ हेर्ने यो फाँट पछिल्लो हप्तादेखि नै सुनसान नै छ। ‘सुनसान छ। हामी तीनजनाले काम पाइरहेका छैनौं। अक्कल झुक्कल मात्रै आउँछन्,’ कार्कीले भनिन्।
दुई वर्षअघि यही फाँटमा भ्याइनभ्याइ हुन्थ्यो। घरजग्गा किनबेचका लागि भिड लाग्थ्यो। अहिले बल्ल बल्ल एक दुईजना आउँछन्। त्यो पनि केनबेचका लागि होइन, फुकुवा र रोक्काका लागि।
रजिस्ट्रेसन गमा केही चहलपहल देखियो। तर, मालपोत अधिकृत द्रोण पौडेल केही फुर्सदमै देखिए। ‘रोक्का फुकुवा बढेको छ। तर किनबेच ५० प्रतिशत घटेको छ,’ उनले भने।
राजिस्ट्रेसन क मा भने केही जग्गा पास हुँदै थियो। मालपोत अधिकृत भक्तबहादुर विष्टका अनुसार बुधबार ८ वटा घरजग्गा किनबेच हुँदा बिहीबार दिउँसो ३ बजेसम्म एउटा भन्दा पास भएको थिएन। ‘अहिले आउने अधिकांश धरौटी, अंश पास र दृष्टिबन्धक हो,’ विष्टले भने।
घरजग्गा किनबेच ओरालो लागेका कारण लेखपढी कानुन व्यवसायीले पनि काम पाउन छाडेका छन्। नेपाल लेखपढी कानुन व्यवसायी एसोसियसन इकाईका कर्मचारीले आजकल खासै काम नरहेको बताए। ‘पहिले हामी दुई जना हुँदा भ्याइनभ्याई हुन्थ्यो। आज जम्मा दुईवटा काम भयो,’ इकाईकी कर्मचारी इशा भट्टराईले भनिन्। काम घटेपछि इकाईले अर्का कर्मचारीलाई असारमा बिदा गरेको थियो।
डिल्लीबजारमा गत कात्तिकमा जम्मा १४६ लिखत पारित भएको छ। किनेबेच कम हुँदा २७२ रोक्का र ३०७ फुकुवा भएको तथ्यांक छ। ४ वर्षअघि कात्तिकमा डिल्लीबजार मालपोत कार्यालयले २३५ लिखत पारित गरेको थियो। यस्तै रोक्का संख्या ३९९ र फुकुवा ३७१ थियो।
देशभरमा सबैभन्दा बढी घरजग्गा कारोबार हुनेमा पर्छ लगनखेलस्थित मालपोत कार्यालय। बिहीबार साढे १० बजे सैंबुकी बिना बराल जग्गा फुकुवा गर्न आइपुगेकी थिइन्।
लेखपढी व्यवसायी घाम ताप्दै गफिँदै थिए। दोस्रो तल्लामा रहेको लामाटार, सैंबु, ठेचो, लेले, चौघरे, बुङमती क्षेत्र हेर्ने मालपोत अधिकृत माधवप्रसाद पोखरेल घर कायम कागजमा सही गर्दै थिए।
‘रोक्का बढी छ। किनबेच एकदम घटेको छ पहिलेभन्दा,’ पोखरेलले भने। उनले बुधबार ८ वटा घरजग्गा किनबेच भएको ढड्डा पल्टाउँदै देखाए।
लगनखेलकै रजिस्ट्रेसन गको अवस्था पनि फरक छैन। दिनमै ४०/५० वटा जग्गा पास हुने गरेकामा बुधबार ५ राजीनामा र ८ वटा रोक्का भएको थियो। लामाटार, सैंबु, ठेचो, लेले, चौघरे, बुङ्मती क्षेत्र हेर्ने ग फाँट झैं अरुमा पनि किनबेचको संख्या घट्दो रहेको प्रमुख मालपोत अधिकृत जीवनराज सेढाईंले बताए।
‘किनबेच निक्कै घटेको छ,’ सेढाईंले भने, ‘कुनै समय कामको चापले बोल्ने फुर्सदसम्म हुँदैनथ्यो। अहिले दिक्क मान्नुपर्ने अवस्था छ।’
कर्मचारी वृत्तमा मालपोत कार्यालयलाई सबैभन्दा कमाइ हुने अड्डाका रुपमा लिइन्छ।
मालपोत कार्यालय नजिकै भेटिएका लेखपढी व्यवसायी सञ्चर मान सिंहले पछिल्लो दिन काम पाउनै मुश्किल भएको बताए। ‘मुश्किलले तीन चार वटा काम हुँदै आएको छ दिनमा,’ सिंहले भने।
लगनखेल मालपोत देशभरमै सबैभन्दा बढी भिड हुने कार्यालयका रुपमा चिनिन्छ। लगनखेलमा गत कात्तिकमा ५३६ लिखत पारित भएको तथ्यांक छ। जबकि २०७८ को कात्तिकमा यो मालपोतबाट १५७७ लिखत पारित भएको थियो।
चाबहिल मालपोतमा बुधबार दिउँसो भुँतलामा लेखपढी व्यवसायीका अधिकांश सटर खाली थिए। मालपोत अधिकृत धनबहादुर तामाङले जग्गा पास गर्न आउनेको संख्या निक्कै कम भएका कारण लेखापढी व्यवसायीका सटर खाली हुन पुगेको बताए। उनका अनुसार किनबेच कम हुँदा कर्मचारी नै कामविहीनजस्तै भएका छन्।
‘अहिले हाम्रो काम नै छैन। दिनमा जम्मा एक दुईओटा पास हुन्छ,’ विष्णु, गोठाटार र जोरपाटी क्षेत्र हेर्ने फाँटका तामाङले भने, ‘अरु फाँटको अवस्था पनि यस्तै हो।’
चाबहिल मालपोतबाट कात्तिक महिनामा ३३१ लिखत पारित भएको छ। यो संख्या २०७८ कात्तिकमा ७१२ थियो।