काठमाडौं। पछिल्लो समय नेपाल टेलिकमको ५० र १०० रुपैयाँको रिचार्ज कार्ड अभाव भएको छ। टेलिकमले माग अनुसार नछापेका कारण कार्ड अभाव भएको हो।
धेरै जिल्लाबाट कार्ड नपाएको गुनासो आएको छ। पटक पटक जानकारी गराउँदा पनि ५० र १०० रुपैयाँको कार्ड नपाएपछि प्रधानमन्त्री कार्यालयमा उजुरी परेको छ। प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको हेलो सरकारमा उपभोक्ताले उजुरी गरेका हुन्।
५० र १०० रुपैयाँको कार्ड खासगरी उपत्यकाबाहिर त्यसमा पनि ग्रामिण भेगमा बढी प्रयोग हुन्छ। तर, टेलिकमले २ सातादेखि कार्ड नै उपलब्ध नगराएको उजुरीमा उल्लेख छ।
टेलिकमका प्रवक्ता हरि ढकालले कार्डको अभाव रहेको स्वीकार गरे। उनले आपूर्ति गर्ने कम्पनीले अर्डर अनुसार उपलब्ध गराउन नसकेका कारण ५० र १०० रुपैयाँको कार्ड अभाव भएको बताए।
‘सबैभन्दा धेरै माग हुने ५० र १०० रुपैयाँको कार्ड हो। तर, केही समययता माग अनुसारको संख्यामा कार्ड छपाइ भइरहेको छैन। हामीले आपूर्तिकर्तालाई दैनिक ताकेता गरिरहेका छौं। तर, कम्पनीले कहिले मेसिन बिग्रियो, कहिले बत्ती भएन भन्ने बहाना बनाएर कार्ड उपलब्ध गराइरहेका छैनन्,’ प्रवक्ता ढकालले भने।
टेलिकमले रिचार्ज कार्ड छाप्ने जिम्मेवारी दिएका कम्पनी मिराज प्रिन्टिङ र स्प्रिन्ट प्रिन्टिङ हुन्। सुरुमा स्प्रिन्टले आफ्नो मेसिन बिग्रिएको बताएकामा अहिले मिराजले पनि मेसिन नै बिग्रिएको कारण देखाएर कार्ड कम संख्यामा उपलब्ध गराएकाले अभाव भएको ढकालले बताए।
‘कार्ड छाप्ने जिम्मा पाएका कम्पनी दुईवटा हुन्। दुवै कम्पनीले समस्या देखाएका छन्। जसले गर्दा हामीसँग अहिले अप्सन नै भएन,’ उनले भने।
स्प्रिन्टले आइतबार ५० र १०० रुपैयाँका २ लाख कार्ड उपलब्ध गराएको छ। ती कार्ड सोमबारदेखि बजारमा पठाउने ढकालले बताए।