
काठमाडौं। संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले सरकारको नेतृत्व गरेको ४ महिना नाघ्यो। उसलाई सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले साथ दिइरहेको छ। संसद्का अरु केही दलको पनि साथका कारण सरकारसँग करिब दुई तिहाइ बहुमत छ।
यति ठूलो मत हुँदा पनि सरकारले आशा जगाउने काम गर्न सकेन। एक हिसाबले भन्ने हो भने चार महिना सरकारले व्यर्थमा बितायो। स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले नै काम नभएको भनेर असन्तुष्टि जनाइरहेका छन्।
सरकार गठनको १०० दिन पुगेका अवसरमा नियमित बैठक र गोष्ठीलाई कामको सूचीमा राख्न बाध्य भएका ओलीले अहिले कर्मचारीहरुलाई बैठकको औचित्य सावित गर्न भनिरहेका छन्। धन्न सरकारले काम भएन भनेर आलोचना खेप्नुपरेको छैन।
प्रमुख प्रतिपक्षी दल माओवादीले एक दिन खबरदारी सभा राखेर आफ्नो दायित्व पूरा भएको सम्झिएको छ भने अर्को प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारलाई खबरदारी गर्नेभन्दा आफ्ना सभापति रवि लामिछानेको रिहाइका लागि प्रदर्शन गर्ने भूमिकामा सीमित छ। यसको मतलव सरकारलाई प्रतिपक्षी दलबाट खासै ‘थ्रेट’ छैन। नागरिक समाजको उपस्थिति देखिन छोडेको त धेरै भइसकेको छ।
यस्तो बेला सरकारको नेतृत्व गरिरहेको एमाले आफैं सडकमा ओर्लिएको छ। काठमाडौंको दरबारमार्गमा लाखौं रुपैयाँ भाडा तिरेर व्यवसाय गर्दै आएकाहरुलाई सटर बन्द गर्न लगाएर प्रधानमन्त्री ओलीले तमासा देखाएका छन्।

तमासा दरबारमार्गमा गरेका ओलीले पूरै काठमाडौं अस्तव्यस्त बनाएका छन्। जताततै ट्राफिक जामले स्कुले विद्यार्थी प्रभावित भएका छन्। बिरामीलाई उपचारका लागि अस्पताल पुग्न सकस परेको छ।

सर्वसाधारणले वित्थैमा हण्डर सहनुपरेको छ। गन्तव्यमा पुग्नका लागि सर्वसाधारणले कुन हदसम्मको सास्ती बेहोर्नुपर्यो भन्नका लागि बिजमाण्डूकर्मी प्रविन रानाभाटले खिचेका तस्वीर पर्याप्त छन्।


आफ्ना कारण कसैको पनि भलो नहुने जानकारी ओलीलाई नभएको होइन। तर, उनले किन पार्टीलाई सडकमा उतारे त? एमालेका नेताहरुले अराजकताविरुद्ध जागरणका लागि प्रदर्शन राखेको भनेर बचाउ गरिरहेका छन्, आशा र सकारात्मकता जगाउन तथा निराशा चिर्न सडक रोजेको भनिरहेका छन्।
के एमाले अराजकताका कारण चिन्तित भएको हो? सरकारको नेतृत्व गर्ने दलले सकारात्मकता जगाउने र निराशा चिर्ने विधि सडक अस्तव्यस्त बनाउनु हो?
एमालेको ‘सडक कब्जा’ कुनै कोणबाट पनि जायज देखिंदैन। राजनीति शास्त्रका प्राध्यापक कृष्ण पोखरेल एमालेको प्रदर्शनलाई ‘पञ्च र्याली’को संज्ञा दिन्छन्।
‘पञ्चायती शासकले आफ्नो पक्षमा जनता छन् भन्ने देखाउन समय समयमा प्रदर्शन र सभा गर्थे। अहिले एमालेले पञ्चायती शैली पछ्याएको छ, पञ्च र्याली गरेको छ,’ प्रा. पोखरेलले भने, ‘एमालेले सडकमा कार्यकर्ता उतारेर आफ्नो शक्ति देखाउनुको कुनै अर्थ छैन। उसको काम भनेको आलोचकहरुलाई कामबाट जवाफ दिने हो। तर, काम गरेर आशा जगाउन नसकेपछि एमालेले नालायकी लुकाउने प्रयासस्वरुप आफूसँग मान्छेको कमी छैन भन्ने देखाउन खोजेको हो।’
एमालेले चार महिनाअघि कांग्रेससँग मिलेर सरकार बनाउँदा आर्थिक सुधार आफ्नो पहिलो एजेण्डा भएको बताएको थियो। यस्तै देशभित्र केही हुँदैन भनेर विदेशिरहेका युवा पंक्तिलाई रोक्ने वातावरण बनाउने भनिएको थियो।
चार महिनामा यसका लागि एउटै प्रयास भएको छैन। आर्थिक शिथिलता झनै बढेर गएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले बजारमा माग बढेको देखाउँदैन। भदौको तुलनामा असोज र असोजको तुलनामा कात्तिकमा आयात घटेको छ।

युवाहरुको विदेश पलायन घटेको छैन, बढिरहेको छ। राष्ट्र बैंकले मंसिर ४ गते सार्वजनिक गरेको तथ्यांक अनुसार युवाहरुको विदेश पलायनले बजारमा माग घटेर आयात खुम्चिंदा विदेशी मुद्रा ढुकुटीमा थुप्रिन पुगेको छ।
ओलीले सरकारको नेतृत्व सम्हाले पछि तीन महिनामा कामको खोजीमा १ लाख ७० हजार ५९३ युवा खाडी र अन्य मुलुक गएका छन्। यो संख्या पोहोर तीन महिनाको तुलनामा ८ बजार बढी हो।
पोहोर प्रतिपक्षी बेञ्चमा बस्दा एमालेले देशमा अहिलेजस्तो निराशा कहिल्यै थिएन, त्यही कारण युवाको विदेश पलायन बढ्यो भन्थ्यो। युवाहरुलाई रोक्ने नीति ल्याउन ठाउँमा पुगेका बेला भने उसले सिन्को पनि भाँचेको छैन। रोजगारीका अवसर बढेका छैनन्, बरु भएका अवसर पनि कटौती भइरहेका छन्।
अर्का विश्लेषक केशव दाहाल देशमा आशा जगाउने मामिलामा ओली र सिंगो एमाले पूरै असफल देखिएको ठान्छन्।
‘रोजगारीका अवसर सिर्जना, विकासका कामलाई तिब्रता दिन कानुनमा संशोधन, नीतिगत सुधार, सुशासनको विषय एमालेको एजेण्डा बनेको देखिएको छैन। खाली सरकार पूरा अवधि चल्छ भनेर वक्तव्य दिने काम भइरहेको छ। ओलीले एमालेलाई दासहरुको पार्टीजस्तो बनाएका छन्। एमालेका कमिटीमाथि नै प्रश्न उठेको छ,’ दाहालले भने, ‘होइन भने सरकारमा बसेको पार्टीले सडकमा गाईजात्रा गर्छ?’

एमालेले अराजकताको विरोध गर्ने नाममा महाअराजकता प्रदर्शन गरेको उनको बुझाइ छ।
‘देशमा अराजकता हुर्किएको एमालेकै नर्सरीमा हो। ओलीले नै अराजकतालाई मलजल गरेका हुन् नि। सरकारले निराशा र अराजकता अन्त्य गर्ने भनेको कामबाट हो। सरकारलाई प्रश्न गर्नुलाई अराजकताका रुपमा लिनु नै गलत भयो। लोकतन्त्रमा प्रश्न गर्न नपाउने भन्ने हुँदेन। प्रश्न गर्ने र विरोध गर्नेलाई जवाफ दिने कामबाट हो,’ उनले भने, ‘जनअपेक्षा अनुसार काम गर्न नसकेपछि एमालेले अराजकता अन्त्यका नाममा महाअराजकता देखायो। एमालेले आफू सरकारमा भएको बिर्सियो। सरकारमा भएको पार्टीले सडकमा हो हल्ला गर्ने होइन।’
विश्लेषक राजेन्द्र दाहाल सरकारको नेतृत्व गरेको दलले सडक कब्जा गर्नुलाई लोकतन्त्रकै उपहास भन्छन्।
‘लोकतन्त्रमा सत्तारुढ दलले सडक कब्जा गर्ने भन्ने हुुँदैन। सडक त प्रतिपक्षीको हो। सरकारले प्रतिपक्षीलाई काम गरेर जवाफ दिनुपर्नेमा आफैं सडकमा ओर्लिनु लोकतन्त्रमा सुहाउने कुरा होइन,’ दाहालले भने, ‘सरकारलाई अराजकता बढेको अनुभव भएको हो भने त्यसका लागि त राज्यका संयन्त्रहरु छन् नि। ती संयन्त्रलाई प्रभावकारी रुपमा काम गर्न लगाउनुपर्यो। आफ्नो जिम्माको काम नगर्ने अनि उल्टै सडकमा आएर शक्ति देखाएका भरमा कोही डराउनेवाला छैनन्। यो सरकार मात्र होइन, एमाले र ओली दुवैको अहितमा छ।’