अदालतमा उपस्थित गराएपछि दीपक मनाङे कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान

बिजमाण्डू
२०८१ कात्तिक २७ गते १५:३५ | Nov 12, 2024
अदालतमा उपस्थित गराएपछि दीपक मनाङे कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान


काठमाडौं। गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई  कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। मंगलबार पक्राउ परेका गुरुङलाई अदालतमा उपस्थित गराएपछि कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान गरिएको हो।

Tata
GBIME
NLIC

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सीतापाइलाबाट पक्राउ गरेको थियो। कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि उच्च अदालत पाटनले गरेको ५ वर्ष कैद सजायसहितको फैसलालाई सदर गरेपछि उनी प्रहरीको खोजी सूचीमा थिए।

उनी २०७४ र २०७९ को चुनावमा मनाङ प्रदेश सभा-२ बाट स्वतन्त्र सांसद निर्वाचित भएका थिए। उनी पटकपटक मन्त्री बने। २०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा मनाङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो।

काठमाडौं जिल्ला अदालतले त्यही वर्ष मनाङेलाई २ वर्ष जेल सजायको आदेश गरेको थियो। अन्य चार प्रतिवादी गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवारले सफाइ पाएका थिए। पाँच वर्षअघि उनि ज्यान मार्ने मुद्दामा कैद भएर छुटेका थिए।

जिल्ला अदालतले मुद्दा कर्तव्यज्यान नभई कुटपिट अन्तर्गत दायर हुनुपर्ने सुनायो। जिल्लाको फैसलामा चित्त नबुझेको भन्दै सरकारी वकिल कार्यालय तत्कालीन पुनरावेदन अदालत पाटन गयो।

तत्कालीन पुनरावेदन अदालतले जिल्ला अदालतको फैसला केही उल्टी गर्दै मनाङेलाई ५ वर्ष कैद सजाय सुनायो। अन्य चार प्रतिवादीका हकमा जिल्ला अदालतको आदेश सदर भयो।

चार प्रतिवादीलाई सफाइ दिएकामा सरकारी वकिल कार्यालयले चित्त बुझाएन। सरकारी वकिल कार्यालय सर्वोच्च अदालत गएको थियो। त्यसैको आधारमा प्रहरीले २० वर्षपछि उनलाई पक्राउ गरेको हो। उनले अब करिब २८ महिना कैद सजाय भुक्तान गर्नुपर्ने छ।