
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले चौथो पटक समय पाएको छ।
जिल्ला अदालत कास्कीले आइतबार १३ दिन म्याद थप गरेको हो। तेस्रो पटक थप भएको १० दिनको म्याद सकिएपछि प्रहरीले २५ दिन म्याद थपका लागि आवेदन गर्दै अदालतमा उपस्थित गराएको हो।
सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध प्रहरीले संगठित र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिरहेको छ।
उनलाई सहकारी ठगीमा नै रुपन्देही जिल्ला अदालतले यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ।
रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको विषयमा अनुसन्धान गरिरहेको छ।
लामिछाने कात्तिक २ गते काठमाडौंको वनस्थलीबाट पक्राउ परेका थिए। यता रास्वपाले भने लामिछानेलाई सरकारले नियतवस हिरासतमा राखेर मानसिक तनाव दिएको भन्दै प्रदर्शन गरिरहेको छ।