
काठमाडौं। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुझानाबाट सशस्त्र प्रहरी र राजस्व अनुसन्धान कार्यालयको टोलीले ११२ बोरा चिनी बरामद गरेको छ।
भारतबाट अवैधरूपले नेपाल ल्याई गोदाममा राखेको सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल र राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले चिनी बरामद गरेको हो।
बरामद चिनी राजस्व अनुसन्धान कार्यालय लैजाने क्रममा सरकारी टोलीमाथि ढुंगामुढा प्रहार भएको थियो। तस्कर समूह र स्थानीयले बाटो अवरुद्ध गरी ढुंगामुढा प्रहार गरेका हुन्।
ढुंगा लागेर दुईजना सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरीको गाडीमा समेत क्षति पुगेको छ।
लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण रुपन्देहीबाट उपरीक्षक आनन्द थापामगरको कमान्डमा ७० जनाको टोली गएको थियो। त्यो टोलीले भिडलाई तितरबितर पारी बरामद चिनी राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ।