काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा आजदेखि छठ पर्व सुरु भएको छ। छठ चार दिनसम्म विभिन्न विधि पूरा गरेर मनाइने पर्व हो।
तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि यो पर्वलाई धुमधामका साथ मनाइन्छ।
हाल काठमाडौं लगायतका पहाडी क्षेत्रमा पनि यो पर्व धुमधामले मनाइन्छ।
पछिल्लो समय काठमाडौं उपत्यकाका नदी, पोखरीमा छठ कार्यक्रमको आयोजना हुने क्रम बढ्दो छ। काठमाडौंको बागमती, कमलपोखरी, बाइसधारा, भक्तपुरको कमलपोखरी लगायतका क्षेत्रमा मानिसहरु छठ मनाउन पुग्छन्।
अहिले कमलपोखरी र गुहेश्वरी क्षेत्रमा छठका लागि स्टलदेखि साजसज्जाको काम भइरहेको छ। कमलपोखरीमा काठमाडौं महानगरपालिकाले छठको व्यवस्थापन गर्दैछ।
गुहेश्वरीदेखि गौरीघाटसम्म र कमलपोखरीमा अहिले पुल, बत्ती र साजसज्जाको कम हुँदेछ। छठ पूजा समितिका अनुसार यो वर्ष गुहेश्वरी मा ६०० वटा स्टल बनाउने तयारी रहेको र कमलपोखरीमा ३६५ वटा स्टल निर्माण गरिएको छ।
गुहेश्वरीमा छठ को तयारीको लागि करिब २० लाख रुपैयाँभन्दा बढी लगातमा काम भइरहेको छ। यो वर्ष भक्तजनका लागि प्रति स्टल १ हजार ५०० रुपैयाँ सेवा शुल्क तोकिएको समितिले जनाएको छ।
कमलपोखरीमा भने यो वर्ष सम्पूर्ण तयारीका लागि काठमाडौं महानगरले सहयोग गर्दैछ। जसकारण कमलपोखरीमा स्टलको कुनै सेवा शुल्क नतोकिएको कमल पोखरी छठको व्यवस्थापन समिति रौनियार संस्कृति पूजा समाजले नेपालले जनाएको छ।
चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (विनानुन हालेको) खानेकुरा खाने चलन छ।
त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन्।
षष्ठीका दिन व्रतीहरुले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अघ्र्य अर्पण गर्नेछन्।
त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातकालीन उदाउँदो सूर्यलाई अघ्र्य दिइ छठ पर्व सम्पन्न गर्नेछन्।