स्पेन बाढी : इतिहासकै ठूलो विपदपछि अवस्था बुझ्न जाँदा राजा रानीलाई ‘हत्यारा’भन्दै माटो प्रहार

बिजमाण्डू
२०८१ कात्तिक १९ गते ०७:०६ | Nov 4, 2024
स्पेन बाढी : इतिहासकै ठूलो विपदपछि अवस्था बुझ्न जाँदा राजा रानीलाई ‘हत्यारा’भन्दै माटो प्रहार
स्थानीयले माटो फ्याँक्न सुरु गरेपछि राजा फिलिपलाई सुरक्षित स्थानमा लगिँदै दिँदै। Photo : Reuters

स्पेनको भ्यालेन्सियामा गएको बाढीले त्यहाँको सहर क्षतविक्षत भएको छ। विपद्पछि त्यहाँको अवस्था बुझ्न स्पेनका राजा र रानी प्रभावित क्षेत्रमा पुगे।

Tata
GBIME

राजा फिलिप र रानी लेटिजिया अवस्था बुझ्न जाँदा त्यहाँका स्थानीयले उनीहरुमाथि माटो फ्याँकेर विरोध जनाएका थिए। स्थानीयले फ्याँकेको माटो राज दम्पत्तिको अनुहार र कपडामा लागेको थियो। दम्पत्तिलाई त्यहाँका स्थानीयले ‘मर्डरर’ (हत्यारा) भन्दै कराएका थिए। माटोसँगै प्रदर्शनकारीले अन्य वस्तु पनि फालेका थिए।

हालसम्मकै अत्याधिक वर्षाका कारण भ्यालेन्सियामा बाढी जाँदा २०० भन्दा बढीको मृत्यु भइसकेको छ। अहिले पनि त्यहाँ उद्धार र राहतकार्य जारी छ।

सहर माटोले भरिएको छ भने गाडीहरु यत्रतत्र छन्। ती सबै गाडीलाई निकालेर सहर सफा गर्ने प्रयास भइरहेको छ।

बाढीको पूर्वानुमान गरेर पर्याप्त सूचना नदिएको र स्थानीय अधिकारीबाट आवश्यक सहयोग नपाएको भन्दै बाढी प्रभावित क्षेत्रका बासिन्दा रुष्ट देखिएका हुन्।

राजा र रानी पुग्दा स्थानीयहरु आक्रोशित देखिएका थिए। राजा फिलिपले त्यहाँका प्रभावितहरु पनि कुराकानी गरेका थिए। अवस्थालाई मध्यनजर गर्दै सुरक्षाकर्मीले राजा र रानीलाई घेरा हालेर निकालेको थियो।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्जेच र भ्यालेन्सियाका प्रमुख कार्लोस मजोन पनि प्रभावित क्षेत्र पुगेका थिए। उनीहरुलाई पनि परिस्थिति बुझेर पहिला नै त्यहाँबाट लगिएको थियो। सान्जेचको कारमा ढुंगामुढा भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।

राजा फिलिपले प्रदर्शन गरिरहेकोहरुको क्रोध र निराशा आफूले बुझेको प्रतिक्रिया दिएका छन्।