
काठमाडौं । नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ। दसैं र तिहारमा हलसँगै ‘ओभर दी टप’ (ओटीटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकले साथ दिएको चलचित्रकर्मी बताउँछन्।
विदेशी फिल्मको तुलनामा नेपाली चलचित्रको व्यापार दसैं र तिहारमा उच्च रहेको चलचित्र वितरक करण श्रेष्ठले बताए।
‘फिल्म हलमा नेपाली चलचित्र हेर्ने दर्शकको संख्या बढेको छ। गत दसैं हलहरुमा नेपाली चलचित्रमय बन्यो, तिहारमा पनि उस्तै देखिएको छ,’ उनले भने।
दसैं लक्षित प्रदर्शन गरिएका ‘छक्का पञ्जा–५’ र ‘१२ गाउँ’ ले बक्सअफिसमा राम्रो व्यापार गर्यो। यी चलचित्रका शो अझै केही हलमा छन्।
यस्तै, दसैंमा चलचित्र ‘ज्वाइँ साब’ ले पनि दर्शकको साथ पायो।
तिहार लक्षित प्रदर्शन गरिएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले पनि राम्रो व्यापार गरिरहेको छ। यस चलचित्रमा पहिलोपटक शीर्ष भूमिकामा देखिएका अभिनेता विजय बराल दर्शकबाट प्राप्त मायाले दंग छन्।
‘दर्शकहरुले माया गर्नुभएको छ। यो मेरा लागि नौलो अनुभव हो। मलाई विश्वास गर्ने निर्माण समूह र साथ दिनुहुने दर्शक प्रति कृतज्ञ छु,’ उनले भने।
चलचित्र भवनसँगै ओटीटीमा समेत नयाँ चलचित्र प्रदर्शन गरिय । हलबाट उतारेर निर्देशक निश्चल बस्नेतले चलचित्र ‘मेघौली फ्रम बेहुली’ लाई ओटीटीमा प्रदर्शन गरे। यसले नेपाली निर्मातालाई आम्दानीको नयाँ स्रोत थपेको चलचित्रकर्मीको भनाइ छ।
चलचित्र ‘महापुरूष’ तिहार लक्षित गरि युट्युबमा सार्वजनिक गरिएको छ। यसअघि ओटीटीमा सार्वजनिक भएको यस चलचित्रलाई दर्शककै अनुरोधमा युट्युबमा ल्याइएको निर्माता तथा कलाकार रवीन्द्रसिंह बानियाँको दाबी छ।
उनले भने, ‘चलचित्र भवन र ओटीटीपछि हामीले युट्युबमा सार्वजनिक गरेका हौं।’
दसैं तिहारमा चलचित्र भवनमा अन्य समयको तुलनामा राम्रो व्यापार हुनुका साथै घरमै चलचित्र हेर्ने दर्शकको संख्या वृद्धि भएको चलचित्रकर्मी बताउँछन्। त्यसैले यो समयमा चलचित्रलाई दर्शकसम्म पुर्याउन निर्माता उत्साहित देखिने गरेका छन्।