भारतमा सेटलाइट इन्टरनेट हात पार्न धनाढ्य मस्क र अम्बानीबीच टसल, कसले पाउला स्पेक्ट्रम?

बिजमाण्डू
२०८१ कात्तिक १८ गते १५:०२ | Nov 3, 2024
भारतमा सेटलाइट इन्टरनेट हात पार्न धनाढ्य मस्क र अम्बानीबीच टसल, कसले पाउला स्पेक्ट्रम?

काठमाडौं । विश्वका दुई धनाढ्य इलन मस्क र मुकेश अम्बानी भारतको सेटलाइट ब्रोडब्यान्ड बजार हात पार्न चर्को प्रतिस्पर्धामा उत्रिएका छन्।

Tata
GBIME
NLIC

भारत सरकारले केही समय अघि मात्रै ब्रोडब्यान्ड इन्टरनेट सेवाका लागि सेटलाइट स्पेक्ट्रम बोलकबोलबाट नभइ प्रशासनिक संयन्त्रमार्फत वितरण गर्ने घोषणा गरेको थियो। त्यसपछि संसारकै सबैभन्दा धनी मस्क र भारतका धनाढ्य अम्बानीबीचको कर्पोरेट प्रतिस्पर्धा चुलिएको हो।

यसअघि अम्बानीले समर्थन गरेको अक्सन मोडल मस्कले भने विरोध गरेका थिए।

सेटलाइट ब्रोडब्यान्डले सेटलाइटको कभरेज पुगेका सबै ठाउँमा इन्टरनेट पुर्‍याउन सक्छ। जसका कारण दुर्गम र गाम्रीण क्षेत्रमा किफायती इन्टरनेट पहुँच विस्तारमा सहयोग पुग्ने बताइन्छ। जसका कारण विश्वभर बढ्दै गएको डिजिटल डिभाइड न्यूनीकरणमा सेटलाइट इन्टरनेट सहयोगी बन्ने विश्लेषण हुँदै आएको छ।

भारतको दूरसञ्चार नियामक टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डियाले अझैसम्म पनि स्पेक्ट्रमको मूल्य निर्धारण गरेको छैन। भारतमा सेटलाइट इन्टरनेट सेवाको व्यावसायिक प्रयोगबारे पनि स्पष्ट मार्ग नियामकले टुंग्याइसकेको छैन। यद्यपि, क्रेडिट रेटिङ एजेन्सी इक्राले सन् २०२५ सम्म भारतमा सेटलाइट इन्टरनेट प्रयोगकर्ताको संख्या २० लाख पुग्ने प्रक्षेपण गरेको छ।

अम्बानीको जिओले भारतको टेलिकम क्षेत्रमा प्रभाव जमाउन एयरवेब अक्सनमा अर्बौं लगानी गरिसकेको छ। अम्बानीले जिओलाई भारतीय सेटलाइट इन्टरनेट बजारमा बलियो खेलाडी सावित गराउन युरोपेली राष्ट्र लक्जेमबर्गको एसइएस अस्त्र नामक कम्पनीसँग सहकार्य अघि बढाइसकेका छन्।

मस्कको स्टारलिंकले भने लो-अर्थ अर्बिट (एलइओ) सेटलाइट प्रयोग गर्छ। उच्च गतिको इन्टरनेटका लागि स्टारलिंकले आफ्ना सेटलाइट पृथ्वीबाट १६० र १ हजार किलोमिटरबीचमा राखेको छ। जबकि एसइएसले मिडियम-अर्थ अर्बिट (एमइओ) सेटलाइट निकै माथिल्लो अल्टिट्युडमा राख्छ। खर्चका हिसाबले यो किफायती मानिन्छ।

मस्कको स्टारलिंकले ६ हजार ४१९ सेटलाइट अर्बिटमा पठाएको छ। एक सयभन्दा बढी देशहरुमा गरेर स्टारलिंकसँग ४० लाख प्रयोगकर्ता छन्। झण्डै तीन वर्षदेखि स्टारलिंक भारत छिर्ने तयारीमा भए पनि नियामकीय व्यवधानका कारण ढिलाइ भइरहेको छ।

पढ्नुस : विश्वकै धनाढ्य इलन मस्कको स्टारलिंक नेपालमा व्यवसाय गर्न तयार, खोजिरहेको छ सरकारी ‘फेबर’

भारत सरकारले भने अन्तर्राष्ट्रिय मर्म र मान्यताअनुसार सेटलाइट इन्टरनेटको स्पेक्ट्रम बोलकबोलबाट भन्दा पनि प्रशासनिक निर्णयबाटै प्रदान गर्न लागेको दाबी गरेको छ। तर, अम्बानीको रिलायन्सले भने अक्सनबाटै सेटलाइट स्पेक्ट्रम बिक्री हुनुपर्ने माग गर्दै आएको छ। अक्सनले स्वच्छ प्रतिस्पर्धा हुने जिकिर रिलायन्स छ।

भारतको दूरसञ्चार बजारको ८० प्रतिशत हिस्सा अम्बानीको वर्चस्वमा छ। भारतको झण्डै ४० प्रतिशत जनसंख्या अझै पनि इन्टरनेटको पहुँचमा छैन।

यदि इन्टरनेटको मूल्य अझै घट्ने हो भने भारतमा इन्टरनेट पेनिट्रेसन थप वृद्धि हुने देखेरै मस्क भारत प्रवेश गर्न आतुर छन्। विश्वको सर्वाधिक जनसंख्यासहितको भारतीय बजार मस्कका लागि निकै लाभदायी हुने विश्लेषण भइरहेको छ।

केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरको तुलनामा भारतमा इन्टरनेटको मूल्य ज्यादै सस्तो रहेको बताएका थिए। उनका अनुसार भारतमा इन्टरनेटको मूल्य प्रति गिगाबाइट १२ अमेरिकी सेन्ट्स पर्छ।

स्टारलिंक नेपालमा व्यवसाय गर्न पनि तयार देखिएको छ। तर, विद्यमान दूरसञ्चार कानूनका कारण स्टारलिंक नेपाल भित्रिन सकेको छैन।

एक वर्षदेखि सेटलाइटमार्फत इन्टरनेट सेवा दिन इच्छुक यो कम्पनीले २० प्रतिशत स्थानीय लगानी हुनुपर्ने सर्त, उपयुक्त फ्रिक्वेन्सी लगायतमा सरकारले नीतिगत संशोधन गर्नुपर्ने आग्रह गर्दै आएको छ।