कर्णाली नदीको मुहान कहाँबाट सुरु हुन्छ? प्रश्न सजिलो छ। उत्तर चाहिँ कठिन। यही प्रश्नले रमेश भुसाललाई तिब्बततिर तान्छ। केरुङको रंगिन रात देखाउँछ। सागाको सहरमा भुलाउँछ। मानसरोवरको परिक्रमा गराउँछ। अनि कर्णालीको मुहानतिर पुर्याउँछ।
त्यहाँबाट फेरि हुम्लातिर झार्छ। कर्णालीको तिरैतिर भारतको गंगासम्म पुर्याउँछ।
यो यात्रा वृत्तान्त ‘छालबाटो’ले तपाइँलाई पनि यात्रा गराउँछ। ठाउँ चिनाउँछ। भूगोल बताउँछ। जीवन बुझाउँछ। धर्मले केन्द्रमा राखेको मानसरोवर र धर्मबाट टाढा रहेको चीनको यही भूगोलप्रतिको दृष्टिकोण सुझाउँछ।
केही मिथकहरु उल्टिन्छन्। सत्य ठानेका विषयमाथि ‘एन्टिथेसिस’ खडा हुन्छ। अभावग्रस्त तिब्बतको फेरिएको दृश्य, सम्पन्न नेपालको गएगुज्रेको पारा बुझाउँछ। नदी र त्यसको मूलदेखि विसर्जनसम्म पुर्याउँछ।
राक्षस तालबाट पानी आएकाले कर्णाली किनारमा मन्दिर छैनन् भन्ने भ्रम तोडिन्छ – हुम्लाको खार्पुनाथ मन्दिर पुगेपछि। तिब्बतका पठारबाट नेपालका पहाड हुँदै तराई अनि जंगलसँग जोडिन्छ। जलचर, थलचरका सन्दर्भ पनि।
यात्रामा बस जोडिन्छ। खच्चर जोडिन्छन्। डुंगा जोडिन्छ। अध्यात्मका सन्दर्भदेखि गंगा नदी र भारत खोज्न हिँडेका कोलम्बसका सन्दर्भसम्म एकै ठाउँमा भेटिन्छ।
भुसालको ‘छालबाटो’ले कैलाशदेखि गंगासम्म जोड्छ। नियात्राका पारखीले पुस्तकबाटै यात्रा गर्न सक्छन् उचाइको कैलाशदेखि समथर वाराणसीसम्म।
पुस्तकले तिब्बततिर चीनको विकासको मोडल बुझाउँछ। दुवै देशका अध्यागमनको अवस्था झल्काउँछ। चीनले तिब्बतीमाथि गर्ने व्यवहार केलाउँछ।
नियात्राका शब्द शब्दमा समाचारको सुगन्ध छ। केही दृश्य, केही अदृश्य, केही अनुभूति अनि केही लेखकका संघर्षका कथा। कर्णाली बगेजस्तै कतै उछालिँदै त कतै सम्हालिँदै शब्द र सन्दर्भहरु उधिनेका छन् रमेशले। तिब्बततिरको यात्राले रोमान्चक बनाउँछ। लेखक हिल्साबाट नेपाल छिरेपछि देशको दुर्दान्त देखिन्छ। सडक बन्न नसकेका सडकका सन्दर्भले नमिठोगरी चिमोट्छ। तिब्बततिरको विकासका सामुन्ने निर्लज्ज लाग्छ नेपाल।
कुनै बेला अन्न बेच्न जाने ठाउँमा मैदा किन्ने लर्कोको कथाले बताउँछ फेरिएको बजार। मोटरको बाटो पनि हिमाली सीमा पार भएर यता आउँदैछ र त्यहाँ तिब्बतबाटै टिपर भित्रिएको कथाले मन अमिलो गराउँछ।
यही भेगमा संघर्ष गरिरहेका पात्रहरुको कथाले मन घोच्छ। तिब्बतमा बिजुलीका तारैतार र झिलिमिली। नेपाल झरेपछि अन्धकार। अनवरत बगिरहेको कर्णालीबाट खेर गइरहेको पानी। न बिजुली न सिंचाई।
भोग्ने कसैले भन्छ –’चाइनिजको शासन राम्रो, इन्डियाको रासन राम्रो, नेपालको भाषण राम्रो।’
कति गम्भीर कति घोचक !
कर्णालीको सन्दर्भ आएपछि अपर कर्णाली र जीएमआर जोडिने नै भए। विकासका भाका कति नाघे नाघे। त्यसैसँग जोडिएका राजनीतिका रङ पनि उधिनेका छन् लेखकले। बिजुली भन्दै कर्णालीको लाइसेन्स बिक्रीका सन्दर्भ त आउने नै भए।
घुमफिर। (दुस्)साहस। चिन्ता र चिन्तन – सबै अटेका छन्। ठाउँ र सन्दर्भअनुसार एउटा पत्रकारले जे देख्यो त्यही लेख्यो – पर्यावरणदेखि जीवनस्तर सुधारसम्म। मेघ आलेको नदीवाला अभियान त पुरानै हो। उनको मौलिक छवि जस्ताको तस्तै आउँछ सन्दर्भअनुसार। अरु सहयोगीको साथप्रति उत्तिकै न्यायका साथ कलम चलेको छ लेखकको।
बर्दियामा पुग्दा जल, जमिन र जंगल सबै अटाइहाल्छ। बाघ संरक्षण र छुट्ने कुरै भएन। गैंडाको सन्दर्भ किन छुट्थ्यो। टाइगर टप्सका सन्दर्भ र पर्यटन आउने नै भए। रिभर कन्जर्भेसन र र्याफ्टिङ पनि।जनजीवन, अर्थतन्त्र र जनजीविकाका सवाल जहाँ पनि उत्तिकै।
तिब्बत र नेपाल धेरै अट्दा थोरैमात्र सन्दर्भ रहन्छ गंगातिरको। उत्तर प्रदेशको यात्रा जति छोटो छ त्यति नै आकार पाएको छ पुस्तकमा।
यात्राकथा मन पर्छ भने। यात्रा कथामा नयाँ पुराना सन्दर्भ जान्न मन छ भने। विकास र विनासबारे चिन्ता छ भने। समाज र सभ्यताबारे चासो छ भने। अनि पत्रकारको शैली मन पर्ने भए। सीमित नै भए पनि सन्दर्भ सहितको सामग्रीमा रुचि छ भने। मलाईजस्तै छालबाटो तपाइँलाई पनि मन पर्छ।
पक्का।
यो त एउटा पाठकीय अनुभूतिमात्र हो है। पुस्तकमा अरु धेरै कुरा छन् – केरुङको सुविधा सम्पन्न रात्रि जीवनदेखि कर्णाली बगरको टेन्टको बाससम्म। पर्यटनदेखि पर्यावरणसम्म।