साहित्यमा नोबेल पुरस्कार विजेता काङको किताबको माग बढ्यो, चार दिनमा पाँच लाख प्रति बिक्री

बिजमाण्डू
२०८१ असोज २९ गते १४:२३ | Oct 15, 2024
साहित्यमा नोबेल पुरस्कार विजेता काङको किताबको माग बढ्यो, चार दिनमा पाँच लाख प्रति बिक्री
कोरियाली साहित्यकार हान काङ। फोटो : Gary Doak / eyevine / Redux


साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार पाएकी दक्षिण कोरियाकी हान काङको किताबको माग ह्वात्तै बढेको छ। कोरियाली समाचार एजेन्सी योनहापका अनुसार पछिल्लो चार दिनमा हानले लेखेको विभिन्न शीर्षकका किताबहरु ५ लाख प्रति बिक्री भइसकेको छ।

Tata
GBIME
NLIC

उनले लेखेका लघु कथा, उपन्यास धेरैजसो क्योबो बुक सेन्टर र एस २४ रिटेल अनलाइन स्टोरबाट धमाधम बिक्री भइरहेको योनहापले उल्लेख गरेको छ।

गत बिहीबार हानलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको थियो। त्यसपछि आइतबार दिउँसोसम्म क्योबोले २ लाख ६० हजार र एस २४ ले २ लाख ७० हजार किताब बिक्री गरेको हो।

ह्युमन एक्ट, द भेजेटेरियन, वि डु नट पार्ट पछिल्लो दिनमा सबैभन्दा बढी माग भइरहेका छन्। ५३ वर्षीया हानलाई ‘ऐतिहासिक चोटको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने उनका गहन काव्यात्मक गद्यका लागि’ पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नोबेल पुरस्कार समितिले जनाएको छ।

को हुन् हान काङ?

साहित्यतर्फ नोबेल पुरस्कार पाउने पहिलो व्यक्ति बन्न सफल हानका बुवा सेउङ वन पनि कोरियाली उपन्यासकार हुन्। कोरियाको दक्षिण पश्चिमी क्षेत्र ग्वाङजुमा जन्मिएकी उनी पछि परिवारसँगै राजधानी सोल सरिन्। योनसेइ विश्वविद्यालयमा कोरियाली भाषा र साहित्यमा ग्रेजुएट गरेकी उनले सन् १९९३ बाट काव्यिक यात्रा सुरु गरेकी थिइन्। लिट्रेचर एन्ड सोसाइटी नामक साहित्यिक पत्रिकामा रिपोर्टरका रुपमा उनले पहिलोपटक चारवटा कविता छापेकी थिइन्।

त्यसपछि उनले लेखेको लघु कथा ‘रेड एंकर’ले सोल सिनमन दैनिकको आयोजनामा भएको साहित्यिक प्रतिस्पर्धामा अवार्ड हात पारेकी थिइन्। त्यसपछि उनले योशु, द फ्रुट अफ माई वुमन, योर कोल्ड ह्यान्डस्, ब्ल्याक डियर, ग्रिक लेसनजस्ता उपन्यास प्रकाशन गरिन्।

प्रौढ साहित्यमात्र हैन उनी बाल साहित्यमा पनि चिनिएकी सर्जक हुन्। उनले लेखेको माइ नेम इज सनफ्लावर र टियर बक्स कोरियामा चर्चामा छ। कवितामा पनि उतिकै कलम चलाएकी उनले सन् २०१६ मा द भेजेटेरियनका लागि ‘म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार’ पाएकी थिइन्। सन् २००७ मा लेखेको कोरियाली भाषामा लेखिएको द भेजेटेरियन सन् २०१५ मा अंग्रेजीमा अनुवाद गरिएको थियो।

सन् २००७ देखि २०१८ सम्म उनले फिक्सन लेखन कक्षाहरुसमेत सञ्चालन गरेकी थिइन्।