
काठमाडौं । तपाईंले कहिल्यै सोच्नुभएको छ – धेरै बैंकहरूले आफ्नो लोगो र कार्यालयहरूमा निश्चित रंगको मात्र किन प्रयोग गर्छन्? यो केवल सौन्दर्यको कुरा मात्र होइन, निकै सोच-विचार गरिएको व्यावसायिक रणनीति हो।
नेपालका प्रमुख बैंकहरूले आफ्नो ब्रान्डको पहिचान स्थापित गर्न र ग्राहकहरूसँग भावनात्मक सम्बन्ध बनाउन विशेष रंगहरुको प्रयोग गरिरहेका छन्। यी रंगहरू केवल आँखालाई आकर्षित गर्ने साधन मात्र होइनन्, तर तिनीहरूले बैंकको मूल्य, दर्शन र लक्ष्यहरूको प्रतिनिधित्व पनि गर्छन्।
‘बैंकहरुको ब्रान्ड रंग भनेको त्यसको पहिचानको एक महत्त्वपूर्ण हिस्सा हो। यसले बैंकको व्यक्तित्व र मूल्यहरूलाई प्रतिबिम्बित गर्छ,’ नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइरालाले भने।
कोइराला माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत पनि हुन्। उनको बैंकले नीलो र रातो रंगको प्रयोग गरेको छ।

नीलो रंग विश्वसनीयता, व्यवसायिकता र स्थिरताको प्रतीक हो। फेसबुक, लिंकडिन, फोर्डजस्ता कम्पनीहरुले पनि नीलो रंगको प्रयोग गरेका छन्।
रातो रंग उत्साह, जोश र आवेगको प्रतीक हो। कोकाकोला, नेटफ्लिक्स, युट्युबले रातो रंगको प्रयोग गरेका छन्।


नेपालमा विदेशी संयुक्त लगानीको पहिलो बैंक नबिलले हरियो र रातो रंगको प्रयोग गरेको छ। हरियोले विकास र स्थिरतालाई जनाउँछ। नभन्दै ४० वर्षमा नबिलले जुन खालको प्रगति गरेको छ त्यो स्थायित्वसँगै जोडिएर गरेको छ।


विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंकले हरियो र नीलो रंगको प्रयोग गर्छ। हरियोले पर्यावरण प्रति प्रतिबद्धताका साथै नीलोले विश्वसनीयता र स्थिरतालाई जनाउँछ।
एनआइसी एसिया बैंकले रातोको प्रयोग गरेको छ। प्रभु बैंकले पनि रातोको प्रयोग गरेको छ। रातोले आत्मविश्वास र नेतृत्वलाई प्रतिविम्बित गर्छ।

लक्ष्मी सनराइज बैंकले सुन्तला रङको प्रयोग गरेको छ। सुन्तला रंगले जीवन्तता र सकारात्मकतालाई प्रतिनिधित्व गर्छ।
एक अध्ययनले देखाए अनुसार रंग रणनीतिले ब्रान्ड पहिचानमा ८० प्रतिशतसम्म वृद्धि गरेको छ।
नेपालका बैंकहरूले आफ्नो ब्रान्ड रंग छनोटमा ध्यान दिँदै आएका छन्। यी रंगहरुले केवल बैंकको पहिचान मात्र होइन, तिनीहरूको व्यावसायिक दर्शन र लक्ष्यहरूलाई पनि प्रतिविम्बित गर्छन्।
लगभग ३३ प्रतिशत कम्पनीहरूले आफ्नो प्राथमिक ब्रान्ड रंगमा नीलोको प्रयोग गर्छन्। आवेगको रंगका रुपमा चिनिएको रातो लगभग २९ प्रतिशत कम्पनीहरूले प्रयोग गर्छन्। हरियो रंग लगभग १३ प्रतिशत कम्पनीहरूले प्रयोग गर्छन्।

अब अर्को पटक जब तपाईं कुनै बैंकको शाखामा जानुहुन्छ वा त्यसको विज्ञापन हेर्नु हुन्छ, त्यसले प्रयोग गरेको रंगलाई राम्रोसँग ध्यान दिएर हेर्नु होला।
त्यो रङले तपाईंलाई बैंकको व्यक्तित्व र मूल्यहरू बारे धेरै कुरा बताउन सक्छ।