
काठमाडौं। बाढी र पहिरोले बबन्डर मच्चाउनुभन्दा हप्ता दिनअघि नै मौसम पूर्वानुमान महाशाखाले चेतावनी दियो -‘असोजको १०, ११ र १२ गते भारी वर्षा हुन्छ सचेत रहनु।’ पूर्वानुमानलाई अझ विश्वसनीय बनाउन विभागले असोज ९ गते फेरि भारी वर्षाबारे सचेत गराएको थियो। पूर्वानुमान अनुसार नै बिहीबारदेखि अधिकांश भागमा भारी वर्षा भयो भने शुक्रबार त कयौं ठाउँमा डुबान तथा बाढी पहिरोका घटना घटन थालिसकेका थिए। त्यति बेलासम्म सरकार भने विपदबारे बेखबर रह्यो।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री केपी शर्मा ओली त्यस बेला अमेरिकामा आयोजित विभिन्न कार्यक्रममा व्यस्त रहे। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ओलीले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई दिएका थिए। बिहीबारदेखि दर्किन थालेको पानीले शुक्रबार रातिसम्म त बित्यास नै पारिसकेको थियो भने शुक्रबार रातिसम्म मात्रै सय जनाभन्दा बढीको निधन भएको विवरण सार्वजनिक भएका थियो।
क्षतिका विवरण धमाधम आउन थाले पनि दुई दिनसम्म अर्थात् शनिबार दिउँसोसम्म सरकार मौन रह्यो। त्यति बेलासम्म सरकारले शुक्रबार र शनिबार राति गाडी नचलाउन भन्दै ‘ट्राभल एडभाइजरी’ जारी गर्नेबाहेक कुनै कदम चालेन। हप्ता दिनअघि नै मौसम पूर्वानुमानले जारी गरेको चेतावनी, जनधनमा भएको ठूलो क्षति तथा निरन्तरको भारी वर्षाबीच किन सरकारले तत्काल कुनै कदम चालेन?
यसका पछाडिको कारण थियो – कांग्रेस र एमाले बीचको बेमेल। जसरी यी दुई दलबीच विभिन्न विषयमा मतभेद रहँदै आएको थियो त्यो विपदमा कसरी कदम चाल्ने भन्नेमा पनि देखियो।

कांग्रेस-एमालेको ‘ट्युनिङ’ कतिसम्म मिलेन भने कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शनिबार बिहानै आकस्मिक मन्त्रिपरिषद्को बैठक राख्न खोजे तर त्यो सम्भव भएन। ओली आफ्नो अनुपस्थितिमा मन्त्रिपरिषद्बाट विपद्सम्बन्धी तत्काल एक्सनमा उत्रिनका लागि आवश्यक निर्णय गराउन तयार भएनन्।
‘मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउन नखोजेको होइन तर प्रधानमन्त्रीले त्यसका लागि अनुमति दिनुभएन। उहाँले राख्नुस् भन्ने स्थित भएन। मन्त्रिपरिषद्को बैठक बोलाएको अवस्थामा एमालेका मन्त्री नआउने हुन् कि भन्ने स्थिति रह्यो। बैठक बोलाएर एमालेका मन्त्री नआएपछि त्यसको म्यासेज फेरि नराम्रो हुन्छ भन्ने भयो। त्यसपछि मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग बैठक बोलाइयो,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो।
शनिबार बिहान सिंह विपदबारे के कसरी उद्धारमा लाग्ने भन्नेबारे निकै अलमलमा परेका थिए। उनले आफू निकटका केही नेता र मन्त्रीहरूलाई समेत अब के कसरी अगाडि बढ्ने भनेर सोधखोज गरेका थिए। मन्त्रिपरिषद् बैठक नै बोलाउने कि भन्नेबारे छलफल पनि गरे तर त्यसका लागि मुख्यसचिव आवश्यक पर्ने र उनी पनि निकै बेरसम्म सम्पर्कमा सम्पर्कमा नआएपछि सिंह अप्ठेरोमा परे।

शुक्रबार नै गृह जिल्ला स्याङ्जामा बधाई थाप्न गएका मुख्यसचिव एकनारायण अर्यालले निकै समयपछि फोन उठाए पनि आफू राजधानी तत्काल आउन नसक्ने जवाफ फर्काए। ‘म आउनका लागि तत्काल हेलिकप्टरबाट मात्रै सम्भव छ,’ अर्यालले हेलिकप्टर चाहिने बताएपछि ‘उद्धारमा हेलिकप्टर पठाउने कि मुख्य सचिवलाई लिन जाने !’ भनेर सिंहले फोन काटेका थिए।
त्यसपछि भर्चुअल मन्त्रिपरिषद्को बैठक बोलाउन सकिन्छ कि भन्दै सिंहले गृहकार्य गरे। त्यसमा पनि ओलीले सहमति जनाएनन्, आफू नै काठमाडौं आइपुग्ने र त्यति बेलासम्मका लागि समन्वय गर्नका लागि बैठक राख्न ओलीले सिंहलाई भने। कांग्रेसका एक मन्त्रीले उपप्रधानमन्त्री सिंहले निकै अलमलपछि मात्रै बैठक बोलाएको बताए।
‘त्यो दिन उहाँले सुरक्षा प्रमुख, मन्त्रालयका सचिव र मन्त्रीहरूलाई बोलाएर जुन बैठक राख्नुभयो त्यो नै क्याबिनेट सरह हुन्छ भनेर पछि त्यति बैठक भए पनि राखौं भन्नुभयो,’ उनले भने।

अघिल्लो दिन मन्त्री, सचिव र सुरक्षा प्रमुखको बैठक राखेका सिंहले पछिल्लो दिन आइतबार सर्वदलीय बैठक बोलाएका थिए। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले बोलाउनुअघि नै सर्वदलीय बैठक बोलाएका थिए। तर, सरकारले पनि बोलाएको भन्दै पछि उनले आफूले बोलाएको बैठक रद्द गरे।

भर्चुअल रूपमै भए पनि मन्त्रिपरिषद्को बैठक राख्नेबारे सकारात्मक नदेखिएका ओली तत्काल भ्रमण छोट्याएर स्वदेश भने फर्किएनन्। उनी पूर्व निर्धारित तालिकाअनुसार नै आइतबार मात्रै अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेका थिए भने सोमबार मात्रै काठमाडौं आइपुगेका थिए। आफू आएपछि मात्रै उनले राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्को बैठकबाट विभिन्न निर्णय गराएका छन्। उनले मंगलबारको पत्रकार सम्मेलनमा भने आफू पानी पर्दापर्दै आएको जवाफ दिएका थिए।

सरकारले बाढी पहिरोमा परेकाको तत्काल उद्धार गर्नुपर्नेमा शनिबार दिउँसो अबेरसम्म पनि अलमलमा देखिएको थियो। जसका कारण नख्खुमा बाढी आएपछि टिनको छानाको छतमा घण्टौँसम्म बस्दा पनि बाढी प्रभावितको उद्धार हुन सकेको थिएन। बाढीले बगाएपछि दुई जनालाई काभ्रेका चणिकलाल तामाङले दुई जनालाई बचाए भने एक जना आफैं बाढीबाट निस्किएका थिए। उक्त घटनामा अझै एक जना बेपत्ता छन्।
सरकारको अलमलका कारण काठमाडौं उपत्यकाभित्रकै घटनामा पनि लामो समयसम्म उद्धार गर्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।

सरकारको अलमल देखिएको अर्को घटना हो -काठमाडौं र धादिङको सिमानामा रहेको झ्याप्ले खोलाको घटना। ३५ जनाको ज्यान जाने गरी भएको उक्त घटनामा पनि निकै लामो समयसम्म उद्धार हुन सकेको थिएन। शनिबार बिहानै दुई माइक्रो बस र एउटा बसमा पुरिएको भए पनि शनिबार साँझ मात्रै शव निकाल्न थालिएको थियो। आइतबार अपरान्हमात्रै सरकारी निकायले उद्धारको काम सकेका थिए।
काठमाडौंबाट केही किलोमिटरको दुरीमा मात्रै यो घटना भएको भए पनि सरकारले भने उद्धारमा ढिलाइ गरेको भन्दै आलोचना भइरहेको छ। यस्तै राजमार्गमा अलपत्र अवस्थामा रहेका यात्रुहरूका लागि पनि सरकारले तत्काल राहत तथा उद्धारको काम गर्न सकेको थिएन।