
के-पप ब्यान्ड बीटीएसका सुगालाई मादक पदार्थ सेवन गरेर सवारी लगाएको कसुरमा १५ मिलियन ओन ( करिब १५ लाख ३० हजार रुपैयाँ) जरिवाना गरिएको छ।
मिन युन गी नाम गरेका उनले मापसे गरेर गत अगस्तमा इलेक्ट्रिक स्कुटर चलाइरहेका थिए। सिओलको घर नजिकै उनलाई प्रहरीले स्कुटरबाट लडिरहेको अवस्थामा फेला पारेको थियो। त्यसपछि परीक्षण गर्दा उनले मापसे गरेको पुष्टि भएको थियो।
उनको रगतमा मदिराको मात्रा ०.२२७ प्रतिशत थियो। कोरियामा मदिरा ०.०८ प्रतिशत थ्रेसहोल्डभन्दा माथि कटे जरिवाना गर्ने गरिन्छ। गत शुक्रबार उनलाई जरिवानाको सजाय सुनाइएको हो।
उनको लाइसेन्स पनि रद्द गरिएको छ। घटना सार्वजनिक भएपछि उनले घर नजिकै छ भनेर स्कुटर चलाएको भन्दै माफी मागेका थिए।
यो घटनापछि उनको चर्को आलोचना भएको थियो। उनलाई बीटीएस ब्यान्ड छाड्न समेत माग गर्नेहरु थिए। पछि सुगाका फ्यानहरुले भने उनको समर्थनमा र्याली नै निकालेका थिए।
हाल ३१ वर्षीय सुगा सेनामा सोसल सर्भिस एजेन्टका रुपमा काम गरिरहेका छन्।