देशभर बाढी पहिरोको कहर, आज दिउँसो सिंहदरबारमा सर्वदलीय बैठक बस्ने

बिजमाण्डू
२०८१ असोज १३ गते ०६:४७ | Sep 29, 2024
देशभर बाढी पहिरोको कहर, आज दिउँसो सिंहदरबारमा सर्वदलीय बैठक बस्ने

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गरेका छन्। आज दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरि सर्वदलीय बैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ।

Tata
GBIME

अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो। मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानले गर्दा देशभरको जनजीवन प्रभावित भएको छ। केही जिल्लामा मानवीय क्षति भएको छ। सडक, पुलपुलेसा पनि भत्किएका छन्।

यात्राका क्रममा अलपत्र परेकाहरुलाई उद्धार गरि गन्तव्यमा पुर्‍याउने प्रयास भइरहेको छ। त्यसका लागि गृहमन्त्रालयको समन्वयमा आवश्यक प्रयास जारी रहेको कार्यवाहक प्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ।

कार्यवाहक प्रधानमन्त्री सिंहले शनिबार गृहमन्त्री रमेश लेखक, सुरक्षा अङ्गका प्रमुखहरु, मुख्यसचिव, सचिवलगायतबाट देशभरको विपद्को अवस्थाबारे जानकारी लिएका थिए।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सबैको समन्वयमार्फत विपद्बाट प्रभावित व्यक्ति एवं परिवारको सेवामा सरकारका सबै अङ्ग पूर्ण रुपमा परिचालन गरिएको छ।