एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ

बिजमाण्डू
२०८१ असोज ९ गते ११:३४ | Sep 25, 2024
एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ


काठमाडौं। एनसेल फाउन्डेसनले झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविर आयोजना गरेको छ।

Tata
GBIME
NLIC

निःशुल्क शिविरमा १२० जना भन्दा बढी स्थानीय महिलाहरुको सहभागिता थियो भने त्यसमध्ये ९० जना भन्दा बढीले निःशुल्क ‘पाप स्मियर टेस्ट’को लाभ लिएका थिए।

नेपाल क्यान्सर फाउन्डेसन र पूर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले क्यान्सरको स्क्रिनिङ आयोजना गरेको थियो।

पाठेघरको मुखको क्यान्सर नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा पर्छ। सन् २०२२ मा मात्रै २ हजार १ सय ६९ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएको थियो भने यस रोगको कारण १ हजार ३ सय १३ जनाले ज्यान गुमाएका थिए।

शिविरमा आएकी बिर्तामोड नगरपालिका  वडा नं. ५ की शोभा ठाकुरले भनिन्, ‘यहाँ पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङको लागि शिविर बस्दै छ भनेर थाहा पाएर साथीहरु पनि लिएर आएँ। आफ्नो स्वास्थ्यको कुरा खुलेर भन्न नसक्दा मेरो सासु ब्रेस्ट क्यान्सर भएको तेस्रो स्टेजमा मात्र थाहा भएकोले बित्नु भयो। आफ्नो स्वास्थ्य छ त छोरा, छोरी संसार सबै हुन्छ।’

शिविरले महिलाहरुलाई स्वास्थ्य सम्बन्धी केही समस्या भए पहिल्याउँदै समयमा नै निवारक स्वास्थ्य सेवाहरु लिनुको महत्वलाई उजागर गर्दै पाठेघरको मुखको क्यान्सरबाट बच्न प्रारम्भिक पहिचान र रोकथामको लागि नियमित स्क्रिनिङ र सम्बन्धित परीक्षण गर्न प्रोत्साहन गरेको एनसेलले जनाएको छ। एनसेल फाउन्डेसनले कोशी प्रदेशमा ६ हजार भन्दा बढी महिलाहरुको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ।

‘क्यान्सरको स्क्रिनिङमा पहुँच नभएकाहरूसम्म पुग्ने लक्ष्यमा यो अभियान आधारित छ। अधिकांश मृत्यु पाठेघरको मुखको क्यान्सर रोकथाम, स्क्रिनिङ र उपचारमा अपर्याप्त पहुँचका कारण कम र निम्न मध्यम आय भएका महिलाहरूमा भएका छन्। पाठेघरको मुखको क्यान्सर सबैभन्दा सामान्य र नेपाली महिलाहरुको मृत्युको प्रमुख कारण रहेको तथ्यांकले देखाउँछ,’ एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, ‘८० प्रतिशत भन्दा बढी पाठेघरको मुखको क्यान्सरका रोगीहरुले अन्तिममा आएर मात्र रोग लागेको थाहा पाउँछन्। कोशी प्रदेशमा सुरु भएको यस पाइलट प्रोजेक्टको सफलता पछि आगामी दिनमा यस किसिमका पहलहरु अन्य प्रदेशमा पनि विस्तार गर्नेछौं।’

एनसेलले आफ्नो सेवा सञ्चालनको १९औं वार्षिकोत्सवको अवसरमा एनसेल फाउन्डेसनको घोषणा गरेको थियो। फाउन्डेसनले सातै प्रदेशमा विभिन्न सामाजिक विकासका कार्यहरु गर्ने योजना बनाएको छ। एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा सामाजिक परियोजनाहरुको कार्यान्वयन गर्न २ अर्ब रुपैयाँ भन्दा बढी योगदान गरिसकेको छ।