भाटभटेनीको ३०औं सुपरस्टोर ललितपुरको हात्तीवनमा, गुरुङ दम्पतीले गरे शिलान्यास



बिजमाण्डू
२०८१ भदौ ३१ गते १२:४१ | Sep 16, 2024
भाटभटेनीको ३०औं सुपरस्टोर ललितपुरको हात्तीवनमा, गुरुङ दम्पतीले गरे शिलान्यास

काठमाडौं। नेपालको सबैभन्दा ठूलो चेन सुपरस्टोर भाटभटेनी बजार विस्तारमा आक्रामक देखिएको छ। आफ्नो व्यावसायिक सञ्जाल विस्तारका क्रममा भाटभटेनीले ललितपुरको हात्तीवनमा पनि सुपरस्टोर खोल्ने भएको छ।

Tata
GBIME
Zonsen

हात्तीवनस्थित क्लासिक चोकमा खोलिने सुपरस्टोरको सोमबार शिलान्यास गरिएको छ। भाटभटेनीका अध्यक्ष एवम् प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र निर्देशक सावित्री गुरुङले भूमिपूजाका साथै सुपरस्टोरको शिलान्यास गरेका हुन्।

हात्तीवनमा खुल्ने सुपरस्टोर भाटभटेनीको ३०औं आउटलेट हुनेछ।

भाटभटेनीले एक साताको बीचमा तीन स्थानमा सुपरस्टोरको शिलान्यास गरेको हो। भदौ २६ गते चितवनको टाँडी र त्यसको तीन दिनअघि पोखराको ताल चोकमा सुपरस्टोरको शिलान्यास गरिएको थियो।

हात्तीवनमा ७ रोपनी जग्गामा सुपरस्टोर निर्माण गरिने अध्यक्ष गुरुङले जानकारी दिए। उनका अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। ‘२०८२ को दसैंअगाडि सुपरस्टोर सञ्चालनमा ल्याउने योजना छ,’ गुरुङले भने।

भवन २ वटा बेसमेन्टसहित ७ तलाको हुनेछ। यसमा व्यावसायिक र उपभोग्य सामग्रीका साथै सिनेमाहल, फुडकोर्ट र बच्चाका लागि प्ले ग्राउन्डको सुविधा पनि हुनेछ। सञ्चालनमा आएपछि सुपरस्टोरमा ४०० जनाले रोजगारी पाउने उनको भनाइ छ।