विराटनगर। देशको सबैभन्दा ठूलो चेन सुपरस्टोर भाटभटेनी आफ्नो सञ्जाल विस्तारमा आक्रामकरुपले लागेको छ।
कम्पनीले पर्यटकलाई समेत लक्षित गर्दै चितवनको टाँडीमा अहिलेसम्मकै सबैभन्दा ठूलो सुपरस्टोर निर्माण गर्ने भएको छ। त्यसका लागि बुधबार टाँडीमा सुपरस्टोरको शिलान्यास गरिएको छ।
यो भाटभटेनीको २९ औं सुपरस्टोर हुनेछ। पोखराको तालचोकमा २८ औं स्टोर खोल्न भूमिपूजा गरेको तेस्रो दिन टाँडीमा अर्को सुपरस्टोरका लागि शिलान्यास गरिएको हो।
भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले बुधबार बिहान पत्नी सावित्री गुरुङका साथमा सुपरस्टोरको भवनका लागि शिलान्यास र भूमिपूजा गरे। कम्पनीले यो सुपरस्टोर निर्माणमा १५० करोड रुपैयाँ खर्च गर्न लागेको छ।
अध्यक्ष गुरुङका अनुसार सुपरस्टोरका लागि दुई वटा भवन बनाइनेछ। उनले यो सुपरस्टोर भाटभटेनीका अहिलेसम्मका स्टोरमध्ये सबैभन्दा ठूलो हुने बताए। सुपरस्टोर ३ लाख २२ हजार वर्गफिट क्षेत्रफलमा फैलिनेछ।
भाटभटेनीका हाल सञ्चालनमा रहेका २७ वटा सुपरस्टोरमध्ये सुनसरीको इटहरीमा रहेको शाखा सबैभन्दा ठूलो हो जुन २ लाख ९५ हजार वर्गफिटको छ। त्यसपछि वीरगञ्जमा २ लाख ९० हजार वर्गफिटको भवन छ।
सुपरस्टोरका लागि ४ बिघा जमिन खरिद गरिएको छ। सुपरस्टोरका २ वटा भवनले १ बिघा १० कट्ठा जमिन ओगट्ने छन्। दुवै भवन १ बेसमेन्टसहित ७ तलाका हुनेछन्। अगाडिको भवनमा व्यावसायिक सामग्री राखिनेछ र माथिल्लो तला सिनेमा हलका लागि छुट्याइने छ। पछाडिको भवनमा बैंक, फुडकोर्ट, प्ले ग्राउन्ड लगायत सुविधा हुनेछन्।
स्टोर पर्यटकलक्षित हुने
गुरुङले टाँडीको सुपरस्टोर सौराहामा आउने पर्यटकलाई लक्षित गरेर सञ्चालनमा ल्याइने जानकारी दिए। ‘सौराहा पस्ने मुखमै भाटभटेनी सञ्चालनमा आउँदैछ’, उनले बिजमाण्डूसँग भने, ‘त्यसैले पर्यटकले रुचाउने देसीविदेशी सामग्री यहाँ प्रशस्त पाइनेछन्। यसबाहेक नेपाली हस्तकला, काष्ठकला र नेपालीपन झल्काउने सामग्री पनि पर्याप्त राखिनेछ।’
दिनभर घुमेर थाकेका पर्यटकलाई रिफ्रेसमेन्ट चाहिएको हुन्छ। पर्यटकलाई रिफ्रेसमेन्ट गराउने उद्देष्यले टाँडीको सुपरस्टोरमा अत्याधुनिक रेस्टुरेन्ट सञ्चालनमा ल्याइने गुरुङले बताए। रेस्टुरेन्टमा रैथाने नेपाली खानादेखि इन्डियन, चाइनिज, इटालियन लगायत विभिन्न स्थान र मुलुकका परिकार उपलब्ध गराइनेछ।
त्यस्तै पर्यटकलाई मनोरञ्जनका लागि सुविधासम्पन्न प्ले ग्राउन्ड र सिनेमाहल पनि तयार गरिनेछ। ‘यो सुपरस्टोर देशभरिका अन्य सुपरस्टोरभन्दा पृथक् हुनेछ’, उनले सुनाए, ‘यहाँको मैदान पनि ठूलो छ। त्यसैले पर्यटकले आरामले सुस्ताउने र मुड फ्रेस गर्ने ठाउँ प्रशस्त पाउनेछन्। यहाँको वातावरण झकिझकाउ हुनेछ। किनमेल गर्ने कुरा त छँदैछ।’
भाटभटेनीले चितवनमा आफ्नो दोस्रो स्टोर खोल्न लागेको हो। भरतपुर महानगरपालिकामा भाटभटेनीको सुपरस्टोर सञ्चालनमा छ। भरतपुरबाट टाँडी १० किलोमिटर पूर्वमा छ।
‘हामीले यस क्षेत्रमा ग्राहकको संख्या पनि बाक्लो देख्यौं ’, अध्यक्ष गुरुङले भने, ‘त्यस्तै यहाँ स्वदेश र विदेशका पर्यटकको आवागमन पनि बाक्लो छ। यसबाहेक बेरोजगार युवायुवतीको संख्या प्रशस्त पाइयो। त्यसैले उनीहरुलाई रोजगारी दिने लक्ष्यसहित ठूलो सुपरस्टोर निर्माणको योजना ल्याएको हौं।’
गुरुङले व्यवसायी उमेश श्रेष्ठसँगको साझेदारीमा टाँडीमा अत्याधुनिक कोल्ड स्टोर पनि निर्माण गरिरहेका छन्।