बैंकले स्किममा भनेभन्दा पनि सस्तोमा दिन थाले ऋण, आधार दरमा ०.१ प्रतिशत मात्र प्रिमियम 



बिजमाण्डू
२०८१ भदौ ३० गते १२:१४ | Sep 15, 2024
बैंकले स्किममा भनेभन्दा पनि सस्तोमा दिन थाले ऋण, आधार दरमा ०.१ प्रतिशत मात्र प्रिमियम 

काठमाडौं। पेप्सीकोला-जडीबुटी करिडोरमा घर निर्माणमा प्रयोग हुने ग्रेनाइट, मार्बल-टायल्सहरु बिक्री गर्दै आएका एक व्यवसायी पोहोर आधा दर्जन बैंकमा धाए- ऋण माग्नका लागि।

Tata
GBIME
Zonsen

उनले त्यहाँ वरपर शाखा रहेका हरेक बैंकमा ‘लोन-प्रपोजल’ छाडे। उनलाई ‘हुँदैन’ कसैले भनेनन्, तर कुनै पनि बैंकले पत्याएनन्।

‘यो वर्ष रिकभरी भएकाले माथि (कर्पोरेट अफिस) ले मानेन’ भनेर शाखा प्रबन्धकहरुले उनलाई जानकारी गराए।

पोहोर यतिबेला जुन-जुन बैंकमा उनले चक्कर काटेका थिए- त्यहाँका शाखा प्रबन्धक अहिले उनको ग्रेनाइट पसलमा चक्कर काट्न थालेका छन्। 

‘मलाई लाग्थ्यो, बैंकबाट ऋण लिनु भनेको आफ्नो एउटा मिर्गौला बेच्नु जस्तै हो,’ उनले भने, ‘तर अहिले बैंकहरु पैसा बोक्न भारी भयो तिमी सहयोग गरिदेउ भनेजसरी ऋण लिइदिन फकाइरहेका छन्।’

एक/डेढ वर्षकै अन्तरालमा जुन खालको उतारचढाव ऋण मार्केटिङमा देखिएको छ, यसबाट ती व्यवसायी चिन्तित देखिन्छन्- आज फकाउनेले त भोलि ब्याज महँगो पारिदिएर अप्ठेरोमा पार्न सक्छ।

उनले भर्खरै दुई बैंकबाट व्यवसायको आवश्यकता अनुसार फरक-फरक प्रकृतिका ऋण लिएका छन्। उनले प्रशासनिक सेवा शुल्क (सर्भिस चार्ज) त नगन्य तिरे नै, धेरै मोलमोलाइ नगरीकनै ‘बेष्ट डिल’ पाए।

‘बेस रेट प्लस ०.१ पर्सेन्ट प्रिमियम’ अर्थात बैंकको आधार दरमा ०.१ प्रतिशत मात्र प्रिमियम थपेर उनलाई बैंकले ऋण उपलब्ध गरायो।

ती ग्रेनाइट व्यवसायीले मात्रै होइन अहिले तपाइँसँग अलिकति मोलमोलाइ गर्ने क्षमता छ भने बैंकहरुबाट उनीजस्तै ‘बेष्ट डिल’ पाउन सक्नु हुनेछ।

अधिक लगानीयोग्य पुँजीका कारण निक्षेपसँगै ऋणको ब्याज दर घटिरहेको छ। तैपनि ऋण चलाउनका लागि ग्राहक आएका छैनन्।

त्यही भएर बैंकहरुले कतिपय उपभोग्य कर्जा योजनामा आकर्षक स्किम ल्याउन थालेका छन्। अब त्यो स्किमले मात्र भएन, तपाइँलाई अझ सस्तोमा ऋण चाहियो भने- बैंकका शाखाहरु गएर मोलमोलाइ गर्नुस्। आधार दर प्लस ०.१ प्रतिशतमा ऋण पाउनु हुनेछ।

अहिले कर्पोरेट ऋणीहरुले यो अवसरको मज्जाले सदुपयोग गरिरहेका छन्। आम उपभोक्ताले पनि राम्रोसँग मोलमोलाइ गर्ने हो भने बैंकहरुले प्रकाशित गरेकोभन्दा कम ब्याजमा ऋण पाउने छन्।

‘ऋण खोसाखोस मज्जाले बढेको छ। अर्को बैंकबाट ऋण  खोस्ने हो भने आफूले राम्रो रेट दिनु पर्छ,’ एक बैंकरले भने, ‘अहिले बैंकिङमा चलेको दर बेसरेट प्लस ०.१ प्रतिशत प्रिमियम हो।’

दुई वर्षदेखि अर्थतन्त्रबाट ऋणको माग खासै हुन सकेको छैन। राष्ट्र बैंकले लक्षित गरेभन्दा आधा कम मात्र ऋण बिस्तार भइरहेको छ।

‘यो ऋण खोस्ने प्रतिस्पर्धाले पछाडि धकेल्ने भनेको बैंकिङ प्रणालीलाई नै हो,’ नबिल बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले भने, ‘नियामकीय प्रावधानहरुका कारण भोलिका दिनमा प्रिमियम बढाउने अवस्था रहँदैन। त्यसैले सचेत हुनु पर्ने बेलामा हामी सबै प्रतिस्पर्धामा लागेका छौं, जुन राम्रो होइन।’

विगतमा ब्याज सस्तो भएपछि ऋणको माग बढेर जान्थ्यो। त्यसमाथि दसैं तिहार जस्ता महत्वपूर्ण र हप्तादिन चल्ने चाडपर्वमा उपभोग बढ्ने कारण ऋण बिस्तार हुन्थ्यो। सँगसँगै कात्तिकमा चाडपर्व सकेर मंसिरबाट काम गर्ने बेला हुन्थ्यो। त्यसका लागि अहिलेबाट ऋणको जोहो गर्ने काम हुन्थ्यो। अहिले त्यो पनि छैन। त्यसो हुँदा बैंकहरु ३ देखि ८ प्रतिशतको बीचमा बचतकर्ताबाट उठाएको पैसा सस्तैमा भएपनि लगानी गर्न वाध्य भएका हुन्।

३ देखि ८ प्रतिशतको बीचमा उठाएको निक्षेपको लागत कम गर्न उनीहरुले राष्ट्र बैंकका विभिन्न मौद्रिक औजारमा लगानी गरेका छन्। तर, बजारमा जस्तो राम्रो डिल त्यहाँ पाइँदैन। त्यसैले उनीहरुले अर्को बैंकका ग्राहकलाई आधार दर प्लस ०.१ प्रतिशत प्रिमियम अफर गरिरहेका छन्। यसो गर्दा उनीहरुले पाउने स्प्रेड राष्ट्र बैंकमा राख्नुभन्दा बढी हुन्छ।