
विराटनगर। कोशी सरकारले २०८२ लाई कोशी प्रदेश पर्यटन वर्षका रूपमा मनाउने भएको छ। प्रदेशका मुख्य पर्यटकीय गन्तव्यको पहिचान र प्रचार गर्ने र विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ पर्यटन वर्ष मनाउन लागिएको हो।
प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखाका प्रमुख ध्रुव भण्डारीले कोशी सरकारले विश्व पर्यटन दिवसको अवसर पारेर आगामी असोज २७ मा यसको घोषणा गर्ने जानकारी दिए। उनका अनुसार पर्यटन वर्षको उद्घाटन भने २०८२ वैशाख १ मा तेह्रथुम, धनकुटा र संखुवासभा जिल्लाको संगमस्थल गुराँस राजधानी भनिने तीनजुरे मिल्केमा गरिने कार्यक्रम छ।
भण्डारीले आगामी २०८२ भरि प्रदेशमा कति पर्यटक भित्र्याउने भन्ने लक्ष्य निर्धारण गर्न बाँकी रहेको बताए। ‘मन्त्रालय यसका लागि गृहकार्यमा जुटिसकेको छ,’ बिजमाण्डूसित उनले भने, ‘आगामी २०८२ सालका लागि हामी ८२ वटा नै पर्यटकीय गन्तव्यको सूची बनाउँदैछौँ। असोज ११ को घोषणासभामा यसको जानकारी आउनेछ । यस्ता गन्तव्यमा पर्यटकलाई सहजीकरण गर्न सरकारले आवश्यक समन्वय र कार्य गर्नेछ।’
उनले पर्यटन वर्षमा के–के कार्यक्रम हुने भन्ने पनि असोज ११ मा नै सार्वजनिक गरिने स्पष्ट पारे। सरकारले पर्यटन वर्षमा बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। भारतीय र नेपालीको रहनसहन, संस्कृति, परम्परा, वेशभूषा र खानपान पनि मिल्ने भएकाले भारतीय पर्यटक बढी सहज हुने उनको भनाइ छ।
उनले धेरैभन्दा धेरै पर्यटन ल्याउन सरकारले भारतका उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, झारखण्ड र मेघालय गरी ५ राज्यमा प्रचारप्रसार तीव्र बनाउने स्पष्ट पारे।
प्रमुख भण्डारीका अनुसार भारतबाट कोशी प्रदेश क्षेत्रमा प्रवेश गर्ने मुख्य ५ नाका भद्रपुर, काँकडभिट्टा, विराटनगर, भन्टाबारी र पशुपतिनगरमा भारतीय पर्यटक चढेका सवारीसाधनमा पर्यटन वर्षको स्टिकर टाँसिनेछ।
सरकारले प्रदेश प्रहरी कार्यालयसित यस्तो स्टिकर टाँसिएका सवारीसाधनलाई प्रहरीले पर्यटकीय गन्तव्यसम्म पुग्न आवश्यक सहयोग गर्ने समझदारी गरेको छ।
त्यस्तै एक नाकामा ७ जनाका दरले ५ वटै नाकामा पर्यटन सहयोगी प्रहरी पनि खटाइनेछ। यसका लागि ३५ प्रहरीलाई पर्यटनसम्बन्धी तालिम दिने काम भइरहेको छ।
यस्ता प्रहरीले नाकामै को पर्यटक हुन् र को होइनन् भन्ने पहिचान गर्ने र पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउने बताइएको छ। भण्डारीले भने, ‘भारतीयहरू कोशी प्रदेशमा धार्मिक पर्यटकका रूपमा प्रशस्त आउँछन्। त्यसैले धार्मिक पर्यटनसित अन्य गन्तव्य पनि जोडेर हामी एकीकृत पर्यटकीय गन्तव्य र मार्ग सार्वजनिक गर्दैछौँ। यसलाई भारतका ५ वटै राज्यमा लगेर व्यापक गरिने कार्यक्रम छ।’
उनले सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा २०८२ भरि प्रदेश पर्यटन वर्ष मनाउने कार्यक्रम ल्याएको चर्चा गरे।
उनले सुनाए, ‘यसका लागि सरकारले पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई १० करोड रुपैयाँको बजेट निकासा गरिसकेको छ। असोज ११ को घोषणासभापछि प्रचार र कार्यक्रमले तीव्रता पाउनेछ।’