
काठमाडौं। चालु आर्थिक वर्ष साउनमा लाइफ इन्स्योरेन्स कम्पनीले साढे १८ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन्।
३ लघुसहित १७ वटा इन्स्योरेन्स कम्पनीले १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन। कम्पनीहरुले २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार हाल सक्रिय रहेको कुल जीवन बीमा लेखको संख्या १ करोड ३७ लाख छ।
साउनमा नेपाल लाइफ इन्स्योरेन्सले सर्वाधिक ५ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। कम्पनीले ५१ हजार ९८५ बीमा लेख जारी गरेको छ भने प्रथम बीमा शुल्क ६४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको छ।
दोस्रोमा नेसनल लाइफले २ अर्ब २६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसनले २ अर्ब प्रिमियम संकलन गरेको छ। हिमालयन लाइफले १ अर्ब ९३ करोड ३८ लाख, सूर्यज्योतिले १ अर्ब १२ करोड, एसियन लाइफले ९२ करोड ७३ लाख, सिटिजन लाइफले ७६ करोड ४१ लाख र सानिमा रिलायन्सले ६७ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।
सन नेपाल लाइफले सबैभन्दा न्युन ४४ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।
सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४६ करोड ८८ लाख, रिलायबल लाइफले ४९ करोड ९७ लाख, मेटलाइफले ५० करोड ५५ लाख, आइएमई लाइफले ५४ करोड २७ लाख र प्रभु महालक्ष्मीले ५८ करोड ७४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्।