निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीमा २६.६० प्रतिशत गिरावट, व्यापार बढ्दा किन घट्यो भुक्तानी?

सुनिल कुँवर
२०८१ भदौ १२ गते ०६:३९ | Aug 28, 2024
निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीमा २६.६० प्रतिशत गिरावट, व्यापार बढ्दा किन घट्यो भुक्तानी?

काठमाडौं। निर्जीवन बीमा कम्पनीको दाबी भुक्तानीमा व्यापक गिरावट आएको छ। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको दाबी भुक्तानी एक तिहाइले घटेको हो। नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष निर्जीवन बीमा कम्पनीले १७ अर्ब ९५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्।

Tata
GBIME

कम्पनीहरुले भुक्तानी गरेको दाबी रकम अघिल्लो वर्षभन्दा २६.६० प्रतिशतले न्यून हो। २०७९/८० मा निर्जीवन बीमा कम्पनीले २४ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ दाबी भुक्तानी गरेका थिए। पोहोर इन्स्योरेन्सको प्रिमियम संकलन २.३९ प्रतिशतले वृद्धि भएको छ।

अघिल्लो वर्ष ४० अर्ब ४९ करोड रुपैयाँको व्यापार गरेका कम्पनीले पोहोर ४१ अर्ब ४६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्।

२०७९/८० मा २८ लाख पोलिसी बिक्री गरेकामा पोहोर २९ लाख ७७ हजार पोलिसी जारी गरेका छन्। त्यस्तै, २०७९/८० मा दाबी भुक्तानी संख्या १ लाख ६९ हजार रहेकामा गत वर्ष १ लाख ५३ हजारमा सीमित भएको छ।

प्राधिकरणका अनुसार पोहोर निर्जीवन बीमा कम्पनीको पोलिसी बिक्री ६.३२१ प्रतिशतले वृद्धि हुँदा दाबी भुक्तानी संख्या ९.४४ प्रतिशतले घटेको छ।

इन्स्योरेन्सको प्रिमियम वृद्धि अनुसार दाबी पनि बढ्दै जान्छ। तर, कम्पनीहरुको व्यापारमा सुधार आउँदा दाबी भुक्तानीमा भने गिरावट आएको हो।

प्राधिकरणका अनुसार पोहोर कम्पनीहरुले भुक्तानी गरेको दाबी रकमको हिस्सा प्रिमियमको ४३.२९ प्रतिशत हो। अघिल्लो वर्ष यस्तो हिस्सा ६०.३९ प्रतिशत थियो।

सरकारले कृषि बीमाबापतको अनुदान नदिंदा इन्स्योरेन्स कम्पनीले पोहोर अन्तिम त्रैमासमा केही समय पोलिसी बिक्री नै बन्द गरेका थिए। कतिपय कम्पनी कृषि बीमाबापतको दाबी भुक्तानी पनि रोकेका थिए।

सरकारले प्रिमियमको दायित्व रोकेर राखेका कारण दाबी भुक्तानी गर्न नसक्ने भन्दै गत चैतमा कम्पनीहरुले कृषि बीमा व्यवसाय नै बन्द हुने भन्दै प्राधिकरण र कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेखेका थिए। जेठमा सरकारले रकम भुक्तानी गर्ने भनेपछि त्यसयता कम्पनीहरुले कृषि बीमा व्यवसायलाई निरन्तरता दिइरहेका छन्।

दाबी नै न्यून परेका कारण पोहोर इन्स्योरेन्सको दाबी भुक्तानी घटेको प्राधिकरणका अधिकारी बताउँछन्।

‘बाढी पहिरोका कारण अघिल्लो वर्ष ठूलो दाबी परेको थियो। गत वर्ष कम दाबी परेको देखिन्छ,’ प्राधिकरणका सहायक निर्देशक वसन्त बोहराले भने, ‘कतिपय कम्पनीको दाबी भुक्तानी प्रक्रियामै पनि हुन सक्छ। त्यहीकारण गत वर्ष दाबी भुक्तानी घटेको जस्तो लाग्छ।’

इन्स्योरेन्स कम्पनीले कतिपय भुक्तानीमा आलटाल गर्ने भएका कारण पनि दाबी भुक्तानी घटेको हुन सक्ने जानकारहरुको आशंका छ।

‘बीमाको प्रिमियम उठाउने तर दाबी भुक्तानीमा ग्राहकलाई अलमल्याउने प्रवृत्ति छ,’ एक इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले भने, ‘प्राधिकरणको नियमन पनि बलियो छैन। उसले कम्पनीहरुको बदमासी केलाएर हेर्न सकेको देखिंदैन। बरु बीमितलाई दाबीका लागि कानुनी लडाइँ लड्न भन्दा छोडौं भन्ने अवस्थामा पुर्‍याइन्छ।’

अर्थतन्त्रमा शिथिलताका कारण इन्स्योरेन्स कम्पनीहरुले नयाँ व्यवसाय बढाउन नसकेका कारण समग्र बीमा उद्योग नै ऋणात्मक रहेको बीमकहरुको भनाइ छ।

‘समग्रमा गत वर्ष प्राकृतिक डिजास्टर लगायत ठूलो क्षति भएन। क्षति कम भएपछि ठूलो क्लेम परेन,’ प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले भने, ‘कम्पनीको बिजनेसका हिसाबले यो राम्रै हो। तर, समग्र व्यापार पनि यस वर्ष बढ्न सकेको छैन।’