
काठमाडौं। नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नुपर्ने बताएका छन्।
उनले आइतबार सार्वजनिक लेखा समितिको बैठकमा ९ वर्षदेखि महसुल नउठाएका कारण प्राधिकरणसँग गम्भीर प्रश्न रहेको भन्दै घिसिङलाई कारबाही गर्नुपर्ने बताएका हुन्।
‘९ वर्षदेखि महसुल नउठाएको कुरा छ। यसमा प्राधिकरणसँग गम्भीर प्रश्न छन्। त्यसैले किन कारबाही नगर्ने?,’ उनले भने, ‘पैसा उठाउने कि नउठाउने? उठाउने भए निर्णय गरौं। विद्युत प्राधिकरण कसैको निजी लगानीको होइन। व्यक्तिको लोकप्रियताले डराउनु पर्दैन। कारबाहीको निर्णय गर्न लगलग काम्नु पर्दैन।’
उनले कांग्रेस नेता डा. मीनेन्द्र रिजालको नेतृत्वमा गठित उपसमितिले दिएको प्रतिवेदन अनुसार महसुल विवादमा अनुसन्धान गर्न दिएको निर्देशन कार्यान्वयन नभएको विषयमा अख्तियारलाई पनि सोध्नुपर्ने बताए।
‘अख्तियारलाई पनि सोध्नुपर्छ रिजालको प्रतिवेदन किन कार्यान्वयन भएन भनेर? यसमा मिलिभगत त छ नै,’ उनले भने।
बाँस्कोटा ती नेता हुन् जोविरुद्ध सेक्युरिटी प्रिन्टिङ प्रेसका लागि गरेको ७० करोड कमिसन मोलमोलाइको अडियो टेपबारे अनुसन्धान गर्न लेखा समितिले नै अख्तियारलाई निर्देशन दिएको थियो।