काठमाडौं। विद्युत आयोजनाबाट उत्पादित विद्युत् एक ठाउँबाट अर्को ठाउँमा लैजान निर्माण गरिएको प्रसारण लाइनको सञ्जाल ६ हजार सर्किट किलोमिटर पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ४००, २२०, १३२ र ६६ केभी प्रसारण लाइनको लम्बाइ ६ हजार ५०७ सर्किट किलोमिटर पुगेको हो।
१३२ केभी प्रसारण लाइन ४ हजार १३६, ४०० केभी प्रसारण लाइन ६४४ र ६६ केभी प्रसारण लाइन ५१४ सर्किट किलोमिटर छ। प्राधिकरणको नेतृत्व कुलमान घिसिङले सम्हाल्नुअघि आव २०७२/७३ सम्म प्रसारण लाइन २ हजार ९११ सर्किट किलोमिटर थियो।
ग्रिड सबस्टेसनको क्षमता १३ हजार ५० एमभीए पुगेको छ। आव २०७२/७३ मा २ हजार २२३ एमभीए मात्र थियो। यसमा ४००, २२०, १३२, ६६ र ३३ केभी क्षमताका सबस्टेसन छन्।
प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा सरकार र प्राधिकरणले ठूलो लगानी गरेका छन्। प्राधिकरणले आफ्नै स्रोतबाट र विकास साझेदार निकायहरुबाट सहुलितपूर्ण ऋण लिएर प्रसारण लाइनमा लगानी गरिरहेको छ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आठ वर्षको अवधिमा प्रसारण लाइन निर्माणमा गुणात्मक फड्को मारेको बताए।
‘स्थानीयको अवरोध, जग्गा अधिग्रहण, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिको प्रक्रियागत झण्झट, सडक पनि नभएका भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन क्षेत्रमा काम गर्न निर्माण सामग्री मान्छे, खच्चड र हेलिकोप्टरबाट ढुवानी गर्नुपर्ने जस्ता चुनौतीपूर्ण अवस्थालाई पार लगाउँदै प्रसारण लाइन निर्माणमा उल्लेख्य प्रगति हासिल भएको छ’, उनले भने, ‘१३२ केभी प्रसारण लाइनबाट चलिरहेको नेपालको राष्ट्रिय प्रणाली हाल ४०० केभी र २२० केभीबाट चल्न थालेको छ।’
ग्रिड सबस्टेसनबाट उपभोक्तासम्म विद्युत पुर्याउन वितरण लाइन सञ्जाल २ लाख ९ हजार सर्किट किलोमिटर पुगेको छ।
आव २०७२/७३ सम्म वितरण लाइन १ लाख २१ हजार सर्किट किलोमिटर मात्र थियो।