‘आम्दानी अठ्ठन्नी खर्च रुपैयाँ’ पछि सार्वजनिक संस्थान मौद्रिकीकरणको बाटोमा सरकार, के हो मौद्रिकीकरण?



बिजमाण्डू
२०८१ साउन २९ गते ०९:१४ | Aug 13, 2024
‘आम्दानी अठ्ठन्नी खर्च रुपैयाँ’ पछि सार्वजनिक संस्थान मौद्रिकीकरणको बाटोमा सरकार, के हो मौद्रिकीकरण?

काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेटमा एक महत्त्वपूर्ण घोषणा गरेको छ- ‘सार्वजनिक संस्थानको सम्पत्तिलाई मौद्रिकीकरण गरिने छ।’

Tata
GBIME
Zonsen

सरकारको घोषणाले धेरैको ध्यान आकर्षित गरेको छ, तर यसको वास्तविक अर्थ र प्रभाव बारे भने कमैलाई थाहा छ।

ऋणको जालोमा फसेको नेपाल वायु सेवा निगमदेखि उदयपुर सिमेन्टसम्मलाई हेरेर सरकारले मौद्रिकीकरणको बाटोमा जान खोजेको हो। अस्तित्वमा रहेका ४४ संस्थानमध्ये २६ वटाले नाफा कमाएका छन् भने १५ वटा घाटामा छन्। तीन वटा संस्थानको कारोबार शून्य छ।

ती संस्थानमा सरकारले ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख रुपैयाँ सेयर लगानी गरेकामा जम्मा १३ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ लाभांश पाएको छ। यो लाभांश ८ कम्पनीबाट पाएको हो। सेयर लगानी ९.१९ प्रतिशतले बढ्दा सरकारले जम्मा ३.६२ प्रतिशत मात्र लाभांश पाएको हो। सेयर लगानीबाहेक संस्थानमा सरकारको २ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी छ।

सार्वजनिक संस्थानहरूको स्वामित्वमा रहेका सम्पत्तिहरूलाई नगदमा परिवर्तन गर्ने प्रक्रिया मौद्रिकीकरण हो। यसमा जग्गा, भवन, उपकरण वा अन्य मूर्त सम्पत्तिहरू समावेश हुन्छन्।

‘सरकारी संस्थानहरूको कार्यक्षमता बढाउन र राज्यकोषमा थप राजस्व ल्याउन मौद्रिकीकरणको कुरा गरिएको हो,’ अर्थमन्त्रालय उच्च स्रोतले भन्यो, ‘यो विषय पहिलेदेखि नै उठेको हो। तर यसपाली नीतिगत निर्णय नै गरेर अगाडि बढ्न खोजेको हो। मौद्रिकीकरणले निजी क्षेत्रलाई पनि लगानीको नयाँ अवसर प्रदान गर्नेछ।’

सार्वजनिक संस्थाहरु सञ्चालनमा कठिनाइ हुने, अधिकांश घाटामा जाने, सरकारले दीर्घकालीन बोझ बोक्नुपर्ने जस्ता समस्याका कारण मौद्रिकीकरण गरेर बाहिरिन खोजिएको हो।

सार्वजनिक संस्थानसञ्चालन आयखुद नाफा/नोक्सान
नेपाल आयल निगम३८२४९२४११७२२९
नेपाल विद्युत प्राधिकरण१००३४५५९४०५५
नेपाल दूरसञ्चार कम्पनी३६२७१४७९२०१
नागरिक लगानी कोष१३३०३३८५७०
निक्षेप तथा कर्जा सुरक्षण कोष३९९९३३८०६३
राष्ट्रिय वाणिज्य बैंक२७७०७८३५९५१
नेपाल बैंक२६५४६९३४३७५
नेपाल नागरिक उड्डयन प्राधिकरण१२४५१९२६३७६
हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी८४७७१३७५२
कृषि विकास बैंक२५३२०५१३२३४
नेपाल स्टक एक्सचेन्ज८४१०८१८६
राष्ट्रिय बीमा कम्पनी५७७८७७२५
जनक शिक्षा सामग्री केन्द्र२६३१७१९३६
राष्ट्रिय प्रसारण ग्रीड कम्पनी१८९१
साझा यातायात सहकारी संस्था२१८२१८१८
विशाल बजार कम्पनी१८०११४७३
विद्युत उत्पादन कम्पनी१३६१
खाद्य व्यवस्था तथा व्यापार कम्पनी१५९६६१२९२
गोरखापत्र संस्थान७४७१६२४
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड१३२५१६०६
नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी२५१२४११
कृषि सामग्री कम्पनी५६२९२३३५
नेपाल पूर्वाधार निर्माण कम्पनी३५८२
राष्ट्रिय जीवन बीमा कम्पनी१५
धौवादी फलाम कम्पनी
राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र२२-४३
राष्ट्रिय आवास कम्पनी९२९-१०४
सांस्कृतिक संस्थान१६३-१४८
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी१६१५.६१-२८४.३९
बुटवल धागो उद्योग-३४३
नेपाल औषधि लिमिटेड३५६.८६-१५५४.९२
नेपाल ओरियन्ट म्याग्नेसाइट-१६५८
नेपाल रेल्वे कम्पनी६९५-१९९६
हेटौंडा सिमेन्ट५८४१.५-२५४८.७३
नेपाल टेलिभिजन३६३९-३५१२
उदयपुर सिमेन्ट उद्योग६१८१-३६२८
दुग्ध विकास संस्था३६१८७.१३-४८४२.२८
नेपाल खानेपानी संस्थान६७३९-५४६९
नेपाल वायुसेवा निगम२३३६८९-६५२९
नेपाल वन निगम लिमिटेड९०५-११८११४
स्रोत: सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८१

‘हामी विश्वका अन्य देशहरूको अनुभवबाट सिक्दै छौं। हाम्रो लक्ष्य पारदर्शी र न्यायोचित प्रक्रिया सुनिश्चित गर्नु हो,’ राष्ट्रिय योजना आयोगका एक पूर्व सदस्यले भने, ‘मौद्रिकीकरणपछि सम्बन्धित संस्थानको भविष्य छनौट गरिएको मोडेलमा निर्भर गर्दछ। केही संस्थानहरू पूर्ण रूपमा निजीकरण हुन सक्छन् भने अन्य सरकार र निजी क्षेत्रको संयुक्त व्यवस्थापनमा रहन सक्छन्।’

मौद्रिकीकरण पछिल्लो समय भारतले गरेको छ। भारत सरकारले ‘नेशनल मोनेटाइजेशन पाइपलाइन’ नामक कार्यक्रम सुरू गरेको छ जसले सार्वजनिक सम्पत्तिहरूको मौद्रिकीकरणलाई लक्षित गर्दछ।

अष्ट्रेलियाले पोर्ट र विद्युत वितरण नेटवर्क जस्ता पूर्वाधारहरूको मौद्रिकीकरण गरेको छ भने ब्राजिलले आफ्नो ‘इन्भेस्टमेन्ट पार्टनरशिप प्रोग्राम’ मार्फत सार्वजनिक सम्पत्तिहरूको मौद्रिकीकरण गरेको छ।

मुलुकमा सार्वजनिक संस्थानको सम्पत्ति मौद्रिकीकरण गर्ने प्रक्रिया अर्थमन्त्री फेरिएपछि ओझेलमा परेको छ। अघिल्लो सरकारले चालु वर्षको बजेट ल्याएको थियो। बजेट कार्यान्वयन गर्ने बेलामा सरकारसँगै अर्थमन्त्री पनि फेरिएका छन्।

‘यो नीतिगत विषय हो। सबैसँगको छलफलमा ल्याइएको कार्यक्रम भएकाले अगाडि बढाउन समस्या हुँदैन। तर यसमा अर्थमन्त्रीको बुझाइ भने बलियो हुन जरुरी छ,’ मन्त्रालय स्रोतले भन्यो। सरकारले कुन कुन संस्थानको मौद्रिकीकरण गर्न सकिने सम्पत्तिहरूको पहिचान गर्नु पर्छ। त्यसपछि स्वतन्त्र विशेषज्ञहरूद्वारा सम्पत्तिको बजार मूल्य निर्धारण गरिन्छ। सँगसँगै मौद्रिकीकरणको उपयुक्त मोडल छनोट गरिन्छ।

पछिल्लो अभ्यासहरुमा बिक्री, लिज, पीपीपी, बोलपत्र र रकम संकलनजस्ता मोडलहरु प्रयोग भइरहेका छन्। सोझै सम्पत्ति बिक्री गर्न सकिन्छ। त्यसबाहेक सम्पत्ति निश्चित अवधिको लागि लिजमा दिइन्छ। त्यो नभए सार्वजनिक निजी साझेदारी (पीपीपी) मा सम्पत्तिको संचालन गरिन्छ। यसबाहेक खुला र पारदर्शी बोलपत्र प्रक्रियाद्वारा निजी क्षेत्रका संस्थाहरूलाई आमन्त्रण गरिन्छ।

मौद्रिकीकरणपछि सम्बन्धित संस्थानको स्थिति छनोट गरिएको मोडलमा निर्भर गर्दछ। यदि सम्पूर्ण संस्थान नै बिक्री गरिएको छ भने यो निजी क्षेत्रको स्वामित्वमा जान्छ। सरकारको भूमिका नियामक निकायको रूपमा मात्र सीमित हुन सक्छ। केही सम्पत्ति मात्र बिक्री वा लिजमा दिइएको अवस्थामा संस्थान आंशिक रूपमा सरकारी नियन्त्रणमा रहन सक्छ।

पीपीपीमा जाँदा संस्थान सरकार र निजी क्षेत्रको संयुक्त व्यवस्थापनमा सञ्चालन हुन्छ। कुनै अवस्थामा मौद्रिकीकरण प्रक्रियाले संस्थानको पुनर्संरचना गर्न सक्छ जसले गर्दा यसको संरचना र कार्यप्रणाली परिवर्तन हुन सक्छ।